कावासोती। निर्माण क्षेत्रको मुख्य मेरुदण्डको रुपमा रहेको सिमन्ट उद्योगले अप्रत्यासित रुपमा करिव १५ दिनको समयावधिमा (५० देखी ८० प्रतिशतसम्म) मुल्यबृद्धि गरेपछि नवलपुर जिल्लाका उद्योग वाणिज्य संघहरुद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री, उद्योग मन्त्री, भौतिक तथा पुर्वाधार मन्त्रालय, गण्डकी प्रदेश सरकार र जिल्लाका स्थानिय प्रमुखहरुलाई जिल्लाका तिन उद्योग बाणिज्य संधहरुद्धारा सयुक्त रुपमा ज्ञापन पत्र बुझाएको नवलपुर उद्योग वाणिज्य संघका महासचिब सागर पोख्रेलले बताउनु भयो । नवलपुर जिल्लाका जिल्ला नगर उद्योग वाणिज्य संघहरु, नवलपुर उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य दवाडी र मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरण कुमार श्रेष्ठद्धारा संयुक्तरुपमा प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल मार्फत सरकार र मन्त्रालयलाई ध्यानाक्रषण पत्र बुझाएको महासचिब पोख्रेलले जनाए।
नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले वर्तमान समयमा न त इन्धनको मुल्यवृद्धि,लोडसेडिङ तथा बैक व्याजदर वृद्धि केही पनी नहुदाँ अप्रत्याशित रुपमा सिमन्ट उद्योगहरुले मुल्य वृद्धि गर्दा विकास निर्माण र भौतिक निर्माणका कार्यहरु ठप्प हुने निर्माण सग आबद्ध हजारौ व्यवसायीहरु पलायन हुने, आर्थिक मारमा पर्ने र लाखौ मजदुरहरु बेरोजगार हुने भएकाले ज्ञापनपत्र बुझाईएको बताउनु भयो ।
देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य दवाडीले जिल्लाले जिल्ला दर रेट कायम गर्दा राज्यको नीति अनुरुप आ.व.मा १० प्रतिशतले नबढाई मुल्यवृद्धि गर्न सकिने व्यवस्था/परम्परा रहे पनि सिमन्ट उद्योगहरुले कालाबजारी सृजना गरी उपभोक्ता र व्यापारीको ढाड सेक्ने गरेकोले बाध्य भएर ज्ञापनपत्र बुझाउनु परेको बताउनु भयो ।
त्यस्तै मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरण कुमार श्रेष्ठले विभिन्न विकास निर्माणका कार्यमा दर रेट समेत कायम भई अनुमानित लागत स्टुमेट समेत भई टेन्डर प्रक्रिया र उपभोक्ता मार्फत कार्य शुरु भएको अवस्थामा अप्रत्यशित रुपमा निर्माण सामग्रीहरुको मुल्य वृद्धिले निर्माण कार्यहरु ठप्प हुने सरकारको विकास लक्ष्य समेत पुरा नहने हजारौ योजनाहरु अलपत्र पर्ने भएकाले सरकारको ध्यानाकर्षक गराएको बताउनु भयो ।
नेपाल भरका सिमन्ट उद्योगहरुले करीव १५ दिनको अवधिमा प्रति बोरा रु १५० देखि २०० सम्म मुल्यवृद्धि गरेको दाजुभाई हाडवयरका संचालक मित्रलाल पाण्डेले बताउनुभयो । अर्का कावासोतीका आर.के. हाडवयरका संचालक कृष्णराज भण्डारीले आम उपभोक्ताको ढाड सेकिने गरी निर्माण सामग्रीमा भएको मुल्यवृद्धि, कालाबजारी रोक्नका लागी राज्यको तर्फबाट उचित पहल कदमी नरोकिए आन्दोलन गर्नु बाध्य रहने बताउनुभयो ।
ज्ञापन पत्रमा जिल्लाका पूर्व पश्चिम राजमार्ग अन्तरगत नारायणगढ–बुटवल सडक खण्ड निर्माण कार्यमा भएको ढिलाईले उद्योग तथा व्यापार व्यावसाय सँगसँगै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पारेको हुदा सिघ्र सम्पन्न गर्ने समेत ध्यानाकर्षण पत्र मार्फत माग गरेका छन ।