देवचुली । देवचुली ११ मा रहेको महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको २६ औं साधारण सभा शनिबार देवचुली १३ मा रहेको सहारा पार्टी प्यालेसमा गरिएको हो ।
सभामा संस्थाका अध्यक्ष रत्नमाया विश्वकर्माले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/०८२ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा सेयर पुँजीतर्फ ९३ लाख ५३ हजार ३ सय रुपैयाँ कायम हुन गएको उल्लेख छ । संस्थाले सहकारी विकास लेखा तथा व्यवस्थापन तालिम, सहकारी शिक्षा र स्वास्थ्य शिविर संचालन, उद्यमशिलता, नेतृत्व विकास र क्षमता अभिवृद्धि तालिम संचालन,हिंसा न्यूनीकरण सम्बन्धि सचेतना मुलक कार्यक्रम,शेयर सदस्य वृद्धि गर्ने, संस्थाको शाखा विस्तार, बेसार उद्योग स्थापना, किशोर किशोरी सचेतना, बाल संरक्षण सम्बन्धी तालिम लगायतका कार्ययोजना उहाँले सुनाउनुभएको थियो ।
साधारण सभामा सहकारीका कोषाध्यक्ष गंगा गौडेलले आर्थिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका सदस्य सचिव अमृता पाण्डेले लेखा प्रतिवेदन प्रस्तुत गनुभएको थियो ।
महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रत्नमाया विश्वकर्माको अध्यक्षतामा भएको साधारण सभामा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि राजनीतिक दलका प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पुर्व अध्यक्ष, संस्थाका सल्लाहकार, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत सेयर सदस्यहरुको उपस्थितिमा साधारण सभा गरिएको हो।
साधारणसभामा बोल्दै देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले महिलाहरुलाई उद्यमशील बनाउने क्षेत्रमा नगरपालिकासँग समन्वय गरि योजना बनाएर काम गर्न सकिने बताउनुभयो । साधारण सभा चलिरहदा संस्थाले बहुउद्देश्य प्रकृतिका कामहरूलाई कसरी अगाडि बढाउने,महिलाहरुको क्षमता अभिवृद्धि कसरी गर्ने लगायतका विषयमा गहन छ्लफल गर्नुपर्ने बताउनुभयो । महिलाहरुलाई आय आर्जन सहित उद्यमशील बनाउनका लागि संस्थाले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
साधारण सभामा असल ऋणी, बचतकर्ता, उत्कृष्ट सेयर सदस्य, उत्कृष्ट वडा समिति, कर्मचारीलाई सम्मान समेत गरिएको थियो । साधारण सभामा संस्थाका कोषाध्यक्ष गंगा गौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका सचिव फुलमाया विश्वकर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।