देवचुली । देवचुली जेसिजद्वारा पशुपति साङ्ग्वेद आवासीय संस्कृत माध्यमिक विद्यालयमा रहेका बटुकलाई भोजन गराएको छ । देवचुली जेसीजद्वारा जेसिज सप्ताहको कार्यक्रम अन्तरगत बटुकलाई शुक्रबार बिहानको भोजन गराइएको हो ।
जेसिज सप्ताह अन्तरगत देवचुली जेसिजले विभिन्न कार्यक्रम संचालन गरिरहेको र शुक्रबार देवचुली १५ मा रहेको पशुपति साङ्ग्वेद आवासीय संस्कृत माध्यमिक विद्यालयमा रहेका ६० जना बटुकहरुलाई बिहानको भोजन गराइएको कार्यक्रम संयोजक समेत रहेका देवचुली जेसिजका अध्यक्ष सन्तोष काफ्लेले जानकारी दिनुभयो । देवचुली जेसिजले गत शनिबारबाट सुरु गरेको जेसिज सप्ताह अन्तरगत १४७ जना विद्यार्थी झोला वितरणसँगै बटुक भोजन लगायत अन्य कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
जेसिज सप्ताह अन्तरगत शुक्रबार देवचुली डाँडा पर्यटन प्रवर्द्धनका लागि देवचुली जेसिज पदयात्रा गरिने देवचुली जेसिजका महासचिव जीवन भुसालले बताउनुभयो । शुक्रबार दिउँसो ३ बजे देवचुली नगरपालिकाबाट देवचुली डाँडाका लागि प्रस्थान गरि बेलुका डाँडाको फेदमा बास बस्ने र शनिबार बिहान देवचुली डाँडामा जेसिज सप्ताहको समापन समेत गरिने उहाँले बताउनुभयो ।