देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा बिहीबार योङ्ग ब्वाइज चितवन सेमिफाइनलमा प्रवेश गरेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा योङ्ग ब्वाइज चितवनका विरुद्ध रामपुर रड्सबिच बिहीबार भएको क्वाटर फाइनल खेलमा योङ्ग ब्वाइज चितवन विजयी भएको हो ।
योङ्ग ब्वाइज चितवनले रामपुर रड्सलाई २-० गोल अन्तरले हराउँदै सेमि फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा योङ्ग ब्वाइज चितवनका सिमान्सु थापा र समीर श्रेष्ठले गोल गरेका थिए । बिहीबारको खेलमा योङ ब्वाइज चितवनका समीर श्रेष्ठ म्यान अफ दि म्याच भएका थिए । प्रतियोगितामा शुक्रबार अभिषेक चर्च रजहरका विरुद्ध देशभक्त फुटबल क्लबका बिच दोस्रो क्वाटर फाइनल खेल हुने आयोजकले जनाएको छ ।
नवलपुर , चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागिता संचालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो ।
देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको छ । प्रतियोगिताको प्रायोजक सदभाव इन्टरनेशनल एजुकेसन रहेको छ ।