आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा खानेपानी सरसफाइ उपभोक्ता महासंघ र खानेपानी सरसफाइ उपभोक्ता संस्थाबीच अन्तरक्रिया

    प्रकाशित २०८१ मंसिर १०, सोमबार (१ घण्टा अघि)


देवचुली । देवचुलीमा खानेपानी सरसफाइ उपभोक्ता महासंघ र खानेपानी सरसफाइ उपभोक्ता संस्थाबीच अन्तरक्रिया तथा भावी कार्ययोजना कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । खानेपानी सरसफाइ उपभोक्ता महासंघ देवचुलीको आयोजना र वास नमुना गाउँ परियोजनाको सहयोगमा देवचुली नगरपालिकामा रहेका खानेपानी उपभोक्ता संस्थाबीच सोमबार देवचुली १३ स्थित सहारा पार्टी प्यालेसमा अन्तरक्रियासँगै भावी कार्ययोजना निर्माण गरिएको हो ।

जिल्ला खानेपानी सरसफाइ उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले देवचुली नगरपालिकाबाट खानेपानी सरसफाइ सम्बन्धि निर्माण गरिएको ऐन, कानुनको बारेमा जानकारी गराउँदै नगरले आगामी दिनमा गर्न लागेको कामको बारेमा बताउनुभएको थियो । उहाँले एक घर एक खानेपानी धारा पुर्‍याउने नगरपालिकाको नीति भएकाले नगरबासीहरु स्वच्छ र सफा खानेपानी पुर्‍याउन प्रतिबद्ध रहेको बताउनुभयो । त्यसै गरि जिल्ला खानेपानी सरसफाइ उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसालले खानेपानी उपभोक्ता महासंघको परिचय, महासंघका आबद्धता प्रक्रिया र उपभोक्ता समितिको भुमिका तथा जिम्मेवारीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

देवचुलीमा खानेपानी सरसफाइ उपभोक्ता महासंघको प्रगति तथा चुनौतीका विषयमा महासंघ देवचुलीका अध्यक्ष गंगाबहादुर थापाले जानकारी दिनुभएको थियो । त्यसै गरि सुरक्षित खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्द्धनमा देवचुलीमा देखिएका समस्या तथा चुनौतीहरुको पहिचान तथा समाधानका लागि आवश्यक विकल्प सम्बन्धि समूह कार्य गरिएको थियो ।

कार्यक्रममा वास नमुना गाउँ परियोजनाले देवचुली नगरपालिका र खानेपानी महासंघसँग सहकार्य गर्न सक्ने क्षेत्रका बारेमा परियोजनाका संयोजक भिम मल्ल र वासविज्ञ सुशील सुबेदीले जानकारी दिनुभएको थियो । कार्यक्रममा खानेपानी सरसफाइ उपभोक्ता महासंघ देवचुलीको कार्ययोजना समेत निर्माण गरिएको छ ।

कार्यक्रममा देवचुली नगरपालिकाका प्रसासकीय अधिकृत अविनाश पन्थी, खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीहरु, खानेपानी सरसफाइ उपभोक्ता महासंघ देवचुली कार्यसमितिका साथै खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Write your Comment