देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगितामा शनिबार शान्ति दिप युवा क्लब विजयी भएको छ । शान्तिदिप युवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा साविक पिठौलीका विरुद्ध शान्तिदिप युवा क्लब बिच शनिबार भएको खेलमा शान्तिदिप युवा क्लब विजयी भएको हो ।
शान्तिदिपले साविक पिठौलीलाई ४-१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगितामा शान्तिदिप युवा क्लबका जयबहादुर थापा, आशिष सारु, राजन पाठक र अमृत बुढा मगरले १/१ गोल गरेका थिए भने साविक पिठौलीका प्रसिस खनालले गोल गरेका थिए । आजको खेलमा साविक पिठौलीका प्रसिस खनाल म्यान अफ दि म्याच भएका थिए ।
नवलपुर , चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागिता संचालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो । प्रतियोगितामा आइतबार देवचुली नगर युवा तथा खेलकुद विकास समितिका विरुद्ध योङ ब्वाइज चितवनका विरुद्ध खेल हुने आयोजकले जनाएको छ ।
देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको छ । प्रतियोगिताको प्रायोजक सदभाव इन्टरनेशनल एजुकेसन रहेको छ ।