आज:  २०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024 Search
FLASH NEWS

प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगिता : वातासिनो योङ स्टार कावासोतीको विजयी सुरुवात

    प्रकाशित २०८१ मंसिर ७, शुक्रबार (५ घण्टा अघि)


देवचुली । देवचुली १० मा संचालित प्रथम देवचुली गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको समुदघाटन खेलमा वातासिनो योङ स्टार कावासोतीले विजयी सुरुवात गरेको हो । शान्तिदिप युवा क्लबको आयोजनामा देवचुली नगर रंगशालामा भएको वातासिनो योङ स्टार कावासोतीका विरुद्ध युनाइटेड युवा क्लब गिरवारीबिचको खेलमा वातासिनो योङ स्टार कावासोतीले ५-० गोल अन्तरले गिरवारीलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रतियोगितामा वातासिनो योङ स्टार कावासोतीका सान्त गुरुङ २ गोल र सजिन थापा मगरले ३ गोल गरेका थिए । आजको खेलमा वातासिनो योङ स्टार कावासोतीका सजिन थापा मगर म्यान अफ दि म्याच भएका थिए ।

नवलपुर , चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागिता संचालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो । प्रतियोगितामा शनिबार शान्तिदिप युवा क्लबका विरुद्ध साविक पिठौलीका विरुद्ध खेल हुने आयोजकले जनाएको छ ।

देवचुली नगरपालिका वडा नम्बर १० का अध्यक्ष रेप्ती कुमार घर्ती मगरको अध्यक्षतामा भएको प्रतियोगिताको समुदघाटन समारोहमा गण्डकी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री रोशनबहादुर गाहा मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुन मगर, देवचुली नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको समुदघाटनमा बोल्दै प्रदेश सांसद गाहा मगरले देवचुलीमा प्रथम गोल्ड कप सुरु गरेकोमा खेलको सफलताको शुभकामना सहित आगामी वर्षहरुमा गोल्डकपको निरन्तरता हुनुपर्ने बताउनुभयो । नवलपुर खेलकुदको हव भएको बताउँदै उहाँले खेलकुद विकासका लागि यस्ता प्रतियोगिता आवश्यक रहने भनाई राख्नुभएको थियो ।

शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यसै गरि क्लबका सचिव डण्डापानी न्यौपानेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

Write your Comment