आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

देवचुलीको मौलाथुम्कीमा निर्माण गरिएको एक घर एक खानेपानी धाराको समुदघाटन

    प्रकाशित २०८१ मंसिर ६, बिहिबार (४ घण्टा अघि)


राजु चापागाई, देवचुली। देवचुली नगरपालिका वडा नम्बर ५ मा रहेको मौलाथुम्की गाउँमा एक घर एक खानेपानी धाराको समुदघाटन गरिएको छ । देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले एक घर एक खानेपानी धाराको समुदघाटन गर्नुभएको हो। देवचुली नगरपालिका, वास नमुना गाउँ परियोजना र स्थानीयको श्रमदानमा १४ लाख ७० हजार रुपैयाँको लागतमा मौलाथुम्की खानेपानी परियोजना अन्तरगत एक घर एक खानेपानीको धारा निर्माण गरिएको हो ।

मौलाथुम्की खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गिरीराज बरालको अध्यक्षता भएको समुदघाटन कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नगर उप प्रमुख पार्वता तिवारी, देवचुली ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटा, देवचुली ६ का अध्यक्ष मिनबहादुर सोती मगर, प्रगतिनगर खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत अविनाश पन्थी, प्रगतिनगर खानेपानी सरसफाइ उपभोक्ता संस्थाका सचिव इन्द्रमणी भुसाल, वास नमुना गाउँ परियोजनाका संयोजक भिम मल्ल, वासविज्ञ सुशील सुवेदी वास नमुना गाउँ परियोजनाका कर्मचारी, मौलाथुम्की खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

समुदघाटन समारोहमा बोल्दै नगर प्रमुख न्यौपानेले मौलाथुम्की बासीलाई खानेपानीको समस्या भएपछि वास नमुना गाउँ परियोजनासँग सहकार्य गरि खानेपानीको विस्तार गरिएको बताउनुभयो । नगरपालिकाले सबै वडाका नागरिकलाई स्वच्छ र सफा खानेपानी पुर्‍याउनका लागि विभिन्न संघसंस्थासँग हातेमालो गर्दै काम गरिरहेको उहाँले बताउनुभयो । आगामी दिनमा खानेपानी र सरसफाइका लागि नगरपालिकाबाट आवश्यक सहयोग रहने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

खोला तथा गाउँ नजिकै रहेको टंयाकीबाट डोकोमा पानी बोक्ने बाध्यता रहेको मौलाथुम्कीबासीलाई अहिले घर घरमा खानेपानीको पहुँच पुगेको छ । दिनमा एक जनाको काम नै पानी बोक्नमा जाने र अहिले त्यो समयलाई खेतीपाती र पशुपालनमा दिन सकेको स्थानीय भिमकुमारी लुँगेलीले बताउनुभयो । अहिले घरमा धारोमा पानी आएसँगै पहिले आफुहरुले गरेको दुख बिर्सिएको उहाँले बताउनुभयो ।

घरमै धारो अनि चौबीसै घण्टा पानी भएपछी दैनिक काम गर्न सहज भएको लालमाया बरालले बताउनुभयो । पानीको सहजतासँगै घरको सरसफाइ, खेतीपाती र अन्य काममा समय दिन सहज भएको उहाँको बताउनुभयो । पहिला खोलाको छेउमा तरकारी लगाउने गरेका मौलाथुम्कीबासीको अहिले घर घरमा तरकारीलगायत अन्य खेतीलाई सहज भएको र समयको समेत बचत भएको उहाँको भनाइ छ ।

पानीको सहजताले घरमा सबैको समय बचत भएको साथै कृषि तथा पशुपालन निकै सहयोग पुगेको मौलाथुम्की खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गिरिप्रसाद बरालले बताउनुभयो। `पहिला नगरपालिकाको सानो खानेपानी टंयाकी बनाइएको थियो, गाउँको सबै त्यहाँबाट डोकोमा पानी बोकेर लैजान पर्ने बाध्यता थियो, प्रत्येक घरमा ८/१० गाग्री पानी चाहिने र बिहान बेलुका २/३ घण्टा समय पानी बोक्नमै जान्थ्यो´ उहाँले भन्नुभयो । अहिले सबैको घरमा तरकारी उत्पादन भएपछी तरकारी किनेर खानुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । `बाटोको छेउमा चरनमा जाने पशुहरुका लागि पानी खान मिल्ने डुंड बनाइएको छ`, उहाँले भन्नुभयो ` गाउँमा ३ घरमा मात्र शौचालय भएकोमा अहिले परियोजनाको सहयोगमा बाँकी ६ घरमा समेत शौचालय निर्माण गरिएको छ ।´

मौलाथुम्की बासीलाई खानेपानी समस्या रहेकाले देवचुली नगरपालिका र वास नमुना गाउँ परियोजनाको साझेदारीमा मौलाथुम्कीमा खानेपानी तथा सरसफाइका अभियान संचालन गरेको परियोजनाका संयोजक भिम मल्लले बताउनुभयो । ९ घर रहेको मौलाथुम्कीमा परियोजनाबाट ७२ जना लाभान्वित हुने उहाँले बताउनुभयो । संस्थाले देवचुली नगरपालिकाका सहकार्य गर्दै खानेपानी र सरसफाइका कार्यक्रम निरन्तर गर्दै आइरहेको छ।

Write your Comment