देवचुली । देवचुली १० मा प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु हुन लागेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा भोलिबाट सुरु हुने प्रतियोगितामा वातासिना योङ स्टार र युनाइटेड युवा क्लबबिच समुदघाटन खेल हुने भएको हो । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहा मगरले समुदघाटन गर्ने कार्यक्रम रहेको छ ।
देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० को कार्यालय, जिल्ला खेलकुद विकास समिति नवलपुर, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, वडा खेलकुद विकास समिति देवचुली १० को सहकार्य र समन्वयमा देवचुली १० मा रहेको नगरस्तरीय रंगशालामा प्रतियोगिता संचालन गर्न लागिएको देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिनुभयो । नगर रंगशालाको स्तरोन्नतिका साथै खेलक्षेत्रको विकासमा सहयोग पुर्याउन प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
नवलपुर , चितवन र नवलपरासी पश्चिमका १४ टिमको सहभागिता संचालन हुन लागेको प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ७५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ५० हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको सेमिफाइनल पुग्ने २ टिमले २५ हजार रुपैयाँँ नगद समेत प्राप्त गर्नेछन् । त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँँ पुरस्कारको व्यवस्था रहेको शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगरले बताउनुभयो । देवचुलीमा प्रत्येक वर्ष निरन्तर गोल्डकप खेलाउने गरि यस वर्षबाट प्रतियोगिता सुरु गरिएको र सहभागी टिमले ३ जना भन्दा बढी विदेशी खेलाडी खेलाउन नपाउने समेत उहाँले बताउनुभयो ।
प्रतियोगिताको संचालनका लागि सम्पुर्ण तयारी सकिएको र भोलि दिउँसो ३ बजेबाट खेल सुरु हुने क्लबका सचिव दिपक न्यौपानेले बताउनुभयो । नवलपुरकै दोस्रो ठूलो धन राशी पुरस्कार भएको फुटबल प्रतियोगिताबाट खेल पर्यटनलाई सहयोग पुग्ने उहाँको भनाई छ ।