देवचुली । देवचुली १२ मा नेतृत्व विकास, माइन्युट लेखन तथा उदघोषण तालिम सम्पन्न भएको छ । देवचुली १२ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा टोल विकास संस्था, आमा समुहका पदाधिकारी र दलित समुदायको प्रतिनिधिहरुलाई देवचुली १२ को दिव्य ज्योति आधारभूत विद्यालयको सभाहलमा मंसिर २ गतेबाट संचालन भएको तालिम आज समापन गरिएको हो ।
टोल विकास संस्था, आमा समुहका पदाधिकारीहरुलाई संस्थागत नेतृत्व विकास गराउन र माइन्युट लेख्ने सीप सिकाउँदै वडामा हुने विविध कार्यक्रम संचालन गर्नका लागि सहयोग पुर्याउन तालिमको आयोजना गरिएको देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलले जानकारी दिनुभयो । वडाले आर्थिक वर्ष २०८१/०८२ का लागि लक्षित समुहलाई विनियोजन गरेको बजेटबाट तालिम संचालन गर्न लागिएको र चार दिनसम्म नेतृत्व विकास, माइन्युट लेखन र उदघोषण तालिम गरिएको उहाँले बताउनुभयो । तालिमबाट आगामी दिनका टोल विकास संस्था, आमा समुहका कार्यक्रम संचालन, बैठक बसी माइन्युट लेखन सहज हुने उहाँले बताउनुभयो ।
वडामा रहेका ७ वटा टोल विकास संस्थाका पदाधिकारी, १० वटा आमा समुहका पदाधिकारी लगायत ४५ जनाको सहभागिता रहेको तालिममा पहिलो दिन नेता र नेतृत्वका विषयमा, दोस्रो दिन माइन्युट लेखन र उदघोषण, तेस्रो दिन उदघोषण र कार्यक्रम संचालन र चौथो दिन कार्यक्रम संचालनका विषयमा सहजीकरण गरिएको हो । चार दिनसम्म संचालन भएको तालिममा खिमानन्द भुसाल, दिपक शर्मा, दयाराम आचार्य र राजु चापागाईले सहजीकरण गर्नुभएको थियो ।
तालिम निकै नै प्रभावकारी रहेको र वडाले आगामी दिनमा समेत यस्तै कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सहभागीले बताए । तालिममा सिकेका विषयवस्तु आआफ्नो टोल विकास संस्था तथा आमा समुहका कार्यक्रममा प्रस्तुत गर्ने र अबका कार्यक्रम औपचारिक गर्ने सहभागीहरुको भनाई रहेको थियो। देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलको अध्यक्षता तालिमको समापन गरिएको हो । समापन समारोहमा तालिममा सहभागिलाई प्रमाणपत्र प्रदान गरिएको हो । तालिमको समापनमा कार्यपालिका सदस्य फुलमाया बिक, वडा सदस्यहरु, पुर्व वडा सदस्य, दिव्यज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक मैनाकुमारी श्रेष्ठ, प्रशिक्षकहरु, लगायत सहभागिको उपस्थिति रहेको थियो ।