नवलपुर । मध्यबिन्दु नगरपालिका वडा नम्बर ३ मा किशोरी अधिकार, बाल अधिकार र बालमैत्री स्थानिय शासन सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । मध्यबिन्दु नगरपालिकामा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलन स्विजरल्याण्डसँगको साझेदारीमा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा भित्रका सरोकारवालालाई अभिमुखिकरण कार्यक्रम गरिएको संस्थाका कार्यक्रम अधिकृत राधा बोटेले बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला बालबालिका तथा जेष्ठ नगरिक सेलका प्रमुख बिन्दु बिकले बालबालिका , किशोरकिशोरी, महिला माथि हुने विभेद, हिंसा, दुर्व्यवहारहरु र त्यसले पारेका नकारात्मक प्रभावहरु, त्यस्ता समस्याहरुको अवस्था र तथ्यांक तथा समस्या समाधानका लागि गर्दै आएका अभ्यासहरु र सरोकारवालाले गर्न सकिने कार्यको बारेमा सहजीकरण गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालको पृष्ठभुमि, यसले गर्ने कार्यहरु, किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत टोल, समुदाय, विद्यालय, वडा तथा पालिकाहरुमा गर्दै आएका कार्यक्रमहरु, बाल अधिकार, किशोरी अधिकार संरक्षण र बालमैत्री अभियानमा अभिभावक सरोकारवालाको भुमिकाको बारेमा कार्यक्रम अधिकृत राधाबोटेले जानकारी गराउनु भएको थियो
कार्यक्रममा सहभागीहरुले समुदायमा बालबालिका, किशोरकिशोरीहरु र महिलाहरुसँग सम्बन्धित भइरहेका विभिन्न समस्याहरुको बारेमा सम्बोधन गर्दै अनुभवहरु पनि बताउनु भएको थियो ।
कार्यक्रममा मध्यविन्दु वडा नम्बर ३ का वडा अध्यक्ष मान बहादुर महतोले जनप्रतिनिधिहरुसँगै टोल समुदायहरुको पनि समस्याहरु समाधानमा समान भुमिका हुनाले सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो पहल गर्न, टोल समुदायमा विभिन्न संघ संस्था र वडाले गरेका गतिविधिहरुको सूचना तथा तथ्यांकहरु व्यवस्थित गरि राखेमा आगामी दिनमा कार्यक्रमले गर्दा के कस्ता उपलब्धि भए र अझै सुधार गर्दै जानु पर्ने पक्षको बारेमा पुनर्ताजगी हुने कुरा बताउनु भएको थियो । उहाँले आगामी दिनमा संस्थाले गर्ने बालबालिका, अभिभावक र सरोकारवाला लक्षित कार्यक्रमहरुमा समन्वय, सहकार्यका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
मध्यविन्दु ३ का वडा अध्यक्ष मान बहादुर महतोको अध्यक्षता सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु, आमा समूह र महिला समुहका प्रतिनिधिहरु, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरु, विद्यालय र शिक्षक प्रतिनिधिहरु, विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।