आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

प्रदूषण फैलाएको भन्दै देवचुलीका स्थानीयद्वारा चौधरी उद्योग ग्राममा धर्ना

    प्रकाशित २०८१ कार्तिक २५, आईतबार (१ हफ्ता अघि)


नारायण शर्मा, नवलपुर । पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदूषण फैलाएको भन्दै त्यहीका वडाध्यक्षको नेतृत्वमा स्थानीयले धर्ना दिएका छन् ।

धर्नाको नेतृत्व गरेका वडाध्यक्ष शरद घिमिरेले चौधरी उद्योगले कारखाना संचालन गर्न चलाउँदै आएको भुसको ब्वाइलरले ज्यादै प्रदूषण गरेकाले गाउँमा बस्न नहुने भएको भन्दै आइतबार कारखानामा धर्ना दिइएको बताए । कारखाना संचालन गर्न चलाइदै आएको भूसको ब्वाइलरले कारखाना बाहिर बस्तीमा धुलो फैलाएर बस्नै नसकिने अवस्था रहेकाले पटक-पटक ध्यानाकर्षण गराउँदा समेत नभएका कारण आफ्नै नेतृत्वमा धर्ना दिइएको उनले बताए।

कारखाना रहेको वडाका वडाध्यक्ष समेत रहेका घिमिरेले उद्योगको प्रदूषण नियन्त्रण गर्ने ट्रिटमेन्ट प्लान्टले समेत काम नगरेको धेरै वर्ष भएपनि कहिल्यै मर्मत सम्भार नभएकाले पानीमा समेत फोहोर बगेकोतर्फ ध्यानाकर्षण गराएको बताए । कारखानाको पूर्वमा सानो खोला छ । त्यहाँ कारखानाबाट निस्किने फोहर सोझै फ्याँकिएका कारण दुर्गन्धले गाउँमा बस्नै नसकिने अवस्था रहेको स्थानीयको भनाइ छ ।

पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको सांसद विनोद चौधरीको ( सिजी) चौधरी इण्डस्ट्रियल पार्कले स्थानीय २२ सय जनालाई रोजगारी दिँदै आएको छ । कारखानाको मुख्य उत्पादन वियर, चाउचाउ, चुरोट र रियो लगायतका वस्तु छन् ।

Write your Comment