आज:  २०८१ माघ १५, मंगलबार | Tue, 28, Jan, 2025 Search
FLASH NEWS

कावासोती नगरपालिका आधारभूत तहस्तरीय एथलेटिक्स प्रतियोगितामा जनकल्याण सर्वोकृष्ट

    प्रकाशित २०८१ कार्तिक २५, आईतबार (२ महिना अघि)


देवचुली । कावासोती नगरपालिकामा संचालन भएको आधारभूत तहस्तरीय एथलेटिक्स प्रतियोगितामा कावासोती १ मा रहेको जनकल्याण माध्यमिक विद्यालय सर्वोकृष्ट भएको छ । कावासोती नगर खेलकुद विकास समितिको आयोजनमा कार्तिक २२ गतेदेखि २४ गतेसम्म नवदुर्गा खेल मैदान कावासोती २ मा भएको प्रतियोगिता मा जनकल्याणले ८ स्वर्ण, ४ रजत र ४ कास्य पदक सहित रनिङ शिल्ड उचाल्न सफल भएको हो ।

कक्षा १-५ र कक्षा ६-८ गरि दुई समुहमा भएको प्रतियोगितामा ३८ विद्यालयको सहभागिता रहेको थियो । कक्षा १-५ तर्फ ४ स्वर्ण र १ रजत पदक सहित जनकल्याण माध्यमिक विद्यालय प्रथम, १ स्वर्ण, १ रजत र १ कास्य पदक सहित चन्द्रहंश आधारभूत विद्यालय द्वितीय साथै १ स्वर्ण र १ रजत पदक सहित जनता मावि सहिदनगर तृतीय भएका छन् । त्यसै गरि कक्षा १-५ तर्फ चन्द्रहंश आधारभूत विद्यालयका कृष्ण चौधरी सर्वोकृष्ट छात्र र जनकल्याण माविकी विविशा परियार सर्वोकृष्ट छात्रा घोषणा भएका थिए ।

कक्षा ६-८ तर्फ ५ स्वर्ण र ३ रजत सहित जनता मावि त्रिभुवनटार प्रथम, ४ स्वर्ण, ३ रजत र ४ कास्य सहित जनकल्याण मावि रिठ्ठेपानी द्वितीय साथै ३ स्वर्ण र १ कास्य सहित जनता मावि मगरकोट तृतीय भएका छन् । त्यसै गरि जनता मावि त्रिभुवनटारका सुनिल बिक सर्वोकृष्ट छात्र र जनकल्याण माविकी आरती बिक सर्वोकृष्ट छात्रा घोषणा भएका थिए।

कावासोती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तथा कावासोती खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनालको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहा मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा, कावासोती नगरपालिकाका कार्यवाहक नगर प्रमुख फुलकुमारी थनेत, जिल्ला खेलकुद विकास समिति नवलपुरका सेतबहादुर पुन, कावासोती नगर शिक्षा अधिकृत राजन पाण्डे, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

समापन समारोहमा बिजेताहरुलाई शनिबार पदक सहित प्रमाणपत्र प्रदान गरिएको थियो । समापन समारोहको सहजीकरण कावासोती नगरपालिकाका स्रोत शिक्षक तिर्थ कंडेलले गर्नुभएको थियो ।

Write your Comment