देवचुली । कावासोती नगरपालिकामा आधारभूत तह स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता सुरु भएको छ । कावासोती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा कार्तिक २२ गतेदेखि २४ गतेसम्म कावासोती २ अवस्थित नवदुर्गा खेल मैदानमा आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता सुरु गरिएको हो। जिल्ला खेलकुद विकास समितिको समन्वय र नवदुर्गा युवा क्लब तथा नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा बिहीबारबाट प्रतियोगिता सुरु गरिएको हो ।
कावासोती नगर खेलकुद विकास समितिका अध्यक्ष तथा कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालको अध्यक्षता भएको प्रतियोगिताको समुदघाटन समारोहमा गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहा मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कावासोती नगरपालिकाका उप प्रमुख फुलकुमारी थनेत, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुन, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,कावासोती नगर शिक्षा अधिकृत राजन पाण्डे लगायत विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म गरि आधारभूत तहका विद्यार्थीहरुको क्षमता प्रस्फुटनका लागि एथलेटिक्स खेलकुद प्रतियोगिता राखिएको कावासोती नगर खेलकुद विकास समितिका अध्यक्ष तथा कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । तीन दिनसम्म एथलेटिक्स अन्तरगत १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, १००*४ रिले दौड, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प, सटपुट, ज्यालिङ्ग थ्रो लगायतका खेल खेलाइने उहाँले बताउनुभयो । खेल संचालनका लागि नगर खेलकुद विकास समितिले २ दिनसम्म खेल शिक्षकहरुलाई तालिम समेत प्रदान गरिएको उहाँले बताउनुभयो ।
खेलकुदका लागि नगरका ३८ वटा विद्यालयको सहभागिता रहेको थियो । उदघाटन सत्रमा कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत राजन पाण्डेले स्वागत गरेको कार्यक्रमको सहजीकरण स्रोत शिक्षक तिर्थ कंडेलले गर्नुभएको थियो ।