देवचुली । कावासोती नगरपालिकामा आधारभूत तह स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता हुने भएको छ । कावासोती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा कार्तिक २२ गतेदेखि २४ गतेसम्म कावासोती २ अवस्थित नवदुर्गा खेल मैदानमा आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता गर्न लागिएको हो । जिल्ला खेलकुद विकास समिति नवलपुरको समन्वय र नवदुर्गा युवा क्लब तथा नवदुर्गा सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा प्रतियोगिता हुने जनाइएको छ ।
आधारभूत तहका विद्यार्थीहरुको क्षमता प्रस्फुटनका लागि एथलेटिक्स खेलकुद प्रतियोगिता राखिएको कावासोती नगर खेलकुद विकास समितिका अध्यक्ष तथा कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । तीन दिनसम्म एथलेटिक्स अन्तरगत १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, १००*४ रिले दौड, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प, सटपुट, ज्यालिङ्ग थ्रो लगायतका खेल खेलाइने उहाँले बताउनुभयो । उहाँका अनुसार कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म गरि दुई समुहमा खेल संचालन गरिनेछ । नगर खेलकुद विकास समितिले २ दिनसम्म खेल शिक्षकहरुलाई तालिम समेत प्रदान गरिएको उहाँले बताउनुभयो ।
खेलकुदका लागि नगरका ६२ वटा विद्यालयमा जानकारी गराइएको र आधारभूत तहका विद्यार्थी मात्र सहभागी हुन पाउने नगर खेलकुद विकास समितिले जनाएको छ ।