आज:  २०८१ माघ १५, मंगलबार | Tue, 28, Jan, 2025 Search
FLASH NEWS

प्रथम देवचुली खुला फुटबल प्रतियोगिताको उपाधि साथीभाइ फुटबल क्लबलाई

    प्रकाशित २०८१ कार्तिक १५, बिहिबार (२ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १४ मा संचालित प्रथम देवचुली खुला फुटबल प्रतियोगिताको उपाधि साथीभाइ फुटबल क्लबले जितेको छ । विजयादशमी तथा शुभ दिपावलीको अवसरमा देवचुली दलित युवा समाजको आयोजनामा देवचुली १४ को जन ज्योति नमुना माविको खेलमैदानमा देवचुली दलित युवा समाजका विरुद्ध साथीभाइ फुटबल क्लब बीच बिहीबार भएको फाइनल खेलमा साथीभाइ फुटबल क्लब विजयी भएको हो ।


साथीभाइ फुटबल क्लबले देवचुली दलित युवा समाजलाई २-० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । फाइनल खेलमा साथीभाइ फुटबल क्लबका अनिल राना मगर म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने साथीभाई फुटबल क्लबले नगद ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय हुने देवचुली दलित युवा समाजले नगद ३० हजार रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी साथीभाइ फुटबल क्लबका समीर श्रेष्ठ, सर्वोकृष्ट गोलरक्षक साथीभाइ फुटबल क्लबका विशाल घिमिरे र सर्वाधिक गोलकर्ता साथीभाइ फुटबल क्लबका अनिल राना मगरलाई भएका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई शिल्ड प्राप्त गरेका थिए ।


देवचुली दलित युवा समाजका अध्यक्ष राकेश बिकको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल, कार्यपालिका सदस्य विद्याबहादुर विश्वकर्मा, जयबहादुर विश्वकर्मा, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका उपाध्यक्ष अमरबहादुर घर्ती मगर, संस्थाका सल्लाहकारहरु , सहयोगी संघसंस्थाका प्रतिनिधि लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो। प्रतियोगिता संचालनबाट बचत भएको रकमबाट विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने उद्देश्य रहेको देवचुली दलित युवा समाजका अध्यक्ष राकेश बिकले जानकारी दिए ।

Write your Comment