देवचुली । देवचुली नगरपालिका वडा नम्बर १४ मा संचालित प्रथम देवचुली खुला फुटबल प्रतियोगितामा साथीभाइ फुटबल क्लब र देवचुली दलित युवा समाज प्रवेश गरेका छन् । विजयादशमी तथा शुभ दिपावलीको अवसरमा देवचुली दलित युवा समाजको आयोजनामा देवचुली १४ को जन ज्योति नमुना माविको खेलमैदानमा साविक पिठौलीका विरुद्ध साथीभाइ फुटबल क्लब बीच भएको पहिलो खेलमा साथीभाइ फुटबल क्लब विजयी भएको हो ।
साथीभाइ फुटबल क्लबले साविक पिठौलीलाई ६-२ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । बुधबारको खेलमा साथीभाइ फुटबल क्लबका समीर श्रेष्ठ म्यान अफ दि म्याच भएका थिए ।
त्यसै गरि बुधबार नै भएको दोस्रो सेमिफाइनलमा देवचुली दलित युवा समाजले जित निकाल्दै फाइनल प्रवेश गरेको हो । देवचुली दलित युवा समाजले पृथ्वी समाज सेवा क्लबलाई १-० गोल अन्तरले हराउँदै देवचुली दलित युवा समाज फाइनलको यात्रा गरेको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक समाजका अध्यक्ष राकेश बिकले जानकारी दिए । प्रतियोगिता संचालनबाट बचत भएको रकमबाट विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने उद्देश्य समेत रहेको उनले बताए ।
प्रतियोगिता अन्तरगत बिहीबार देवचुली दलित युवा समाज विरुद्ध साथीभाइ फुटबल क्लबबीच फाइनल खेल हुने आयोजकले जनाएको छ।