आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

देवचुली १२ मा टोल स्तरीय विविध खेलकुद कार्यक्रम सुरु

    प्रकाशित २०८१ आश्विन २३, बुधबार (१ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १२ मा टोल स्तरीय विविध खेलकुद कार्यक्रम सुरु भएको छ । देवचुली नगरपालिका वडा नम्बर १२ को आयोजना, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १२ को सह आयोजना तथा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको समन्वयमा मंगलबारदेखि सुरु भएको कार्यक्रमको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माले उदघाटन गर्नुभएको हो ।

वडामा तीनदिनसम्म फुटबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, दौड प्रतियोगिता, ठेलो प्रतियोगिता, घैटो फुटाई प्रतियोगिता, आमा समुहहरुका लागि म्युजिकल चियर , १० वर्ष मुनिका बालबालिकाका लागि बेलुन फुक्ने प्रतियोगिता आयोजना गरिएको देवचुली १२ का अध्यक्ष लोकप्रसाद भुर्तेलले जानकारी दिनुभयो । वडामा फुटबल , ब्याडमिन्टन लगायतका खेलबाट खेलाडीहरुको वडा स्तरीय टिम निर्माण गर्नका लागि र वडामा खेलको प्रवर्द्धनका लागि प्रतियोगिता राखिएको उहाँले बताउनुभयो । सबै उमेर समुहका लागि खेल तय गरिएको र मंगलबार ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिएको समेत उहाँले बताउनुभयो ।

देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलको अध्यक्षतामा भएको खेलको समुदघाटन कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि नेकपा एमाले देवचुली नगर कमिटीका अध्यक्ष भिमलाल तिवारी, वडाका राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नगर तथा वडाका खेलकुद समितिका पदाधिकारीहरु, स्थानीय तथा खेलाडीहरुको उपस्थिति रहेको थियो । देवचुली १२ का वडा सदस्य केदार काफ्लेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन देवचुली नगरपालिकाका कार्यपालिका सदस्य फुलमाया बिकले गर्नुभएको थियो ।

टोल स्तरीय खेलकुद कार्यक्रम अन्तरगत ब्याडमिन्टन प्रतियोगिता मंगलबार नै सकिएको छ । २० जना खेलाडीको सहभागिता रहेको ब्याडमिन्टन प्रतियोगितामा रमेश भुर्तेल र चिरन पाण्डेको जोडी बिजेता भएको थियो । त्यसै गरि समुहगत रुपमा खेलाइएको फुटबल खेल अन्तरगत १८ वर्ष भन्दा कम उमेर समुहको ३ टिम, १८ वर्ष माथि ४० वर्षसम्मका ६ टिम र भेट्रान्सको ४ टिमको सहभागिता रहेको छ । बुधबार फुटबल खेल संचालन भएको र बिहीबार फाइनल खेल हुने वडा कार्यालयले जनाएको छ ।

त्यसै गरि बिहीबार दौड प्रतियोगिता, ठेलो प्रतियोगिता, घैटो फुटाई प्रतियोगिता, आमा समुहहरुका लागि म्युजिकल चियर , १० वर्ष मुनिका बालबालिकाका लागि बेलुन फुक्ने प्रतियोगिता हुने वडा अध्यक्ष लोकप्रसाद भुर्तेलले जानकारी दिनुभयो ।

Write your Comment