देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबारका खेलबाट प्रगतिकला मन्दिर युवा क्लब र आयोजक देव प्रगति युवा समाज फाइनल प्रवेश गरेका छन् । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा बाल स्टार हसौराका विरुद्ध प्रगतिकला मन्दिर युवा क्लब बिच भएको पहिलो सेमिफाइनल खेलमा प्रगतिकला मन्दिर युवा क्लब विजयी भएको हो ।
प्रगतिकला मन्दिर युवा क्लबले बाल स्टार हसौरालाई १-० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा प्रगतिकला मन्दिर युवा क्लबका दिपिन राना म्यान अफ दि म्याच भएका थिए ।
सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक देवप्रगति युवा समाज भएको छ । साथीभाइ फुटबल क्लबका विरुद्ध देवप्रगति युवा समाजबिच भएको खेलमा देवप्रगति युवा समाज विजयी भएको हो । देवप्रगति युवा समाजले साथीभाइ फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा देवप्रगति युवा समाजका सन्दिप मल्ल म्यान अफ दि म्याच भएका थिए ।
३० टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक अर्पण सुबेदीले जानकारी दिए । प्रतियोगितामा सोमबार प्रगतिकला मन्दिर युवा क्लबका विरुद्ध देवप्रगति युवा समाजबिच फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको छ भने सह प्रायोजकमा इक्सान कोरिया भाषा इन्टिच्युट र स्मार्ट लिंक नेटवर्क रहेका छन् ।