आज:  २०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024 Search
FLASH NEWS

विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवनिर्मित भवन उदघाटन

    प्रकाशित २०८१ आश्विन १४, सोमबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ रहेको विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवनिर्मित भवन उदघाटन गरिएको छ । भवनको आज खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ इकाइ कार्यालय कावासोतीका प्रमुख महेन्द्रराज आचार्यले उदघाटन गर्नुभएको हो ।


खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १३ लाख , देवचुली ९ को १ लाख ५० हजार र संस्थाको ५ लाख ५० हजार रुपैयाँ लागत सहभागितामा भवन निर्माण गरिएको खानेपानीका अध्यक्ष मोहन बहादुर आलेले बताउनुभयो । संस्थाको आफ्नै भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता हुने आलेले बताउनुभयो ।

भवनको उदघाटन कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ इकाइ कार्यालय कावासोतीका प्रमुख महेन्द्रराज आचार्यले संस्थाको कार्यालय व्यवस्थापन भएसँगै पानीको गुणस्तर र उपभोक्ताको पहुँचमा पुर्‍याउनका लागि लाग्नुपर्ने कुरामा जोड दिनुभयो । विशालटार खानेपानी संस्थाद्वारा खानेपानी वितरणका निर्माण गरिरहेको डिप बोरिङ्को योजना चाँडै सक्ने र समुदायलाई हस्तान्तरण गर्ने गरि कार्यालयले काम गरिरहेको उहाँले बताउनुभयो । आफ्नो कार्यालयबाट आगामी दिनमा समेत सहयोग गर्ने उहाँको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मोहनबहादुर आलेको अध्यक्षतामा भएको भवन उदघाटन कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ इकाइ कार्यालय कावासोतीका प्रमुख महेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा, प्रगतिनगर खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द कार्यपालिका सदस्य मधुमाया गुरुङ, वडाका जनप्रतिनिधि, पुर्व वडा अध्यक्ष मेखबहादुर थापा सारु, घुमाउरी सामुदायिक वनका अध्यक्ष पार्वती रावल, विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।

विशालटार खानेपानीले देवचुली नगरपालिका वडा नम्बर ९ का ६०० घर परिवारलाई खानेपानीको वितरण गर्दै आइरहेको छ । भवन उदघाटन कार्यक्रमको संचालन संस्थाका सचिव भरत आचार्यले गर्नुभएको थियो ।

Write your Comment