देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा आइतबार साथीभाइ फुटबल क्लब देवचुली ८ र आयोजक देव प्रगति युवा समाज विजयी भएका छन् । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा साथीभाइ फुटबल क्लबका विरुद्ध देवचुली दलित युवा समाज बिच भएको पहिलो खेलमा साथीभाइ फुटबल क्लब विजयी भएको हो ।
साथीभाइ फुटबल क्लबले देवचुली दलित युवा समाजलाई १-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा साथीभाइ फुटबल क्लबका निशान्त थनेत म्यान अफ दि म्याच भएका थिए ।
आइतबार नै भएको दोस्रो खेलमा आयोजक देवप्रगति युवा समाज विजयी भएको छ । देवचुली १२ का विरुद्ध आयोजकबिच भएको खेलमा आयोजक विजयी भएको हो । आयोजकले देवचुली १२ लाई ४-१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा आयोजकका नविन थापा म्यान अफ दि म्याच भएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक अर्पण सुबेदीले जानकारी दिए । प्रतियोगितामा सोमबार प्रगति कला मन्दिर युवा क्लबका विरुद्ध झोर्ले लाफा समुह खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको छ भने सह प्रायोजकमा इस्कान कोरिया भाषा इन्टिच्युट र स्मार्ट लिंक नेटवर्क रहेका छन् ।