देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा बिहीबार कुजौली फुटबल क्लब र योङ्ग ब्वाइज चितवन विजयी भएका छन् । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा कुजौली फुटबल क्लबका विरुद्ध देवचुली ७ बिच भएको पहिलो खेलमा कुजौली फुटबल क्लब विजयी भएको हो ।
कुजौलीले देवचुली ७ लाई ट्राइबेकरमा ३-२ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो । पहिलो खेलमा कुजौली फुटबल क्लबका आशिष महतो म्यान अफ दि म्याच भएका थिए ।
बिहीबार नै भएको दोस्रो खेलमा योङ्ग ब्वाइज चितवन विजयी भएको छ । देवचुली ५ का विरुद्ध योङ्ग ब्वाइज चितवनबिच भएको खेलमा योङ्ग ब्वाइज चितवन विजयी भएको हो । योङ्ग ब्वाइज चितवनले देवचुली ५ लाई ट्राइबेकरमा ३-१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलका योङ्ग ब्वाइज चितवनका अभिषेक गुरुङ म्यान अफ दि म्याच भएका थिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक अर्पण सुबेदीले जानकारी दिए । प्रतियोगितामा शुक्रबार साथीभाइ फुटबल क्लबका विरुद्ध देवचुली दलित युवा समाज पहिलो खेल र आयोजक (ए) का विरुद्ध लक्ष्मीपुर फुटबल क्लबबिच दोस्रो खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको छ भने सह प्रायोजकमा इस्कान कोरिया भाषा इन्टिच्युट र स्मार्ट लिंक नेटवर्क रहेका छन् ।