आज:  २०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024 Search
FLASH NEWS

वातावरणको संरक्षणका लागि हिँड्दै फोहोर टिप्ने प्रतियोगिता सम्पन्न

    प्रकाशित २०८१ आश्विन ५, शनिबार (२ महिना अघि)


देवचुली । कावासोती नगरपालिका वडा नम्बर १२ मा फोहोर व्यवस्थापन र वातावरणको संरक्षणको सन्देश प्रवाहका लागि हिँड्दै फोहोर टिप्ने प्रतियोगिता गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर १२ को आयोजना तथा जागृती बाल तथा युवा सरोकार नेपाल, द गार्डेन होप फाउन्डेसन, एसियन गल्र्स क्याम्पियन, पिठौली चौर युवा समिति र डायमण्ड युथ सोसाइटीको सहकार्यमा पिठौली चोक देखि नारायणी किनारसम्म फोहोर टिप्ने प्रतियोगिता गरिएको हो ।

गाउँघरमा सरसफाईको लागि टोल विकास समितिहरुले सक्रियताका साथ नै कामहरु गरिराखेको सन्दर्भमा आफ्नो वडा भित्र रहेको विद्यालयका बालबालिकाहरुलाई वातावरण संरक्षण र आफ्नो फोहोरको जिम्मेवारी आफुलै नै बहन गर्नुपर्ने कुरा सिकाउनको लागि प्रतियोगिताको आयोजना गरिएको कावासोती १२ का अध्यक्ष ध्रुव खनालले बताउनुभयो । नवलपुरमै पहिलोपटक हिँड्दै फोहोर टिप्ने प्रतियोगिता गरिएको उहाँको दाबी छ।

एसियन गल्र्स अभियानमा २०२४ मा नेपालबाट छ्नोट भएकी किशोरी अभियन्ता सवनम सुनारले यस्तो खालको प्रतियोगिता नवलपुरमा नभएको र स्थानीय सरकारसँग सहकार्य गर्दा यसको सान्दर्भिकता र महत्व बढेको बताउनुभयो ।

प्रतियोगितामा कावासोती १२ भित्रका ४ विद्यालयहरुका बालबालिकाहरु र अन्य व्यक्तिहरुले सहभागिता जनाएका थिए । ४५ मिनेटको वाकाथनमा पिठौली चोकबाट नारायणी नदिको किनार हुँदै नुहाउने घाटसम्मको दुरी तय गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई सो निश्चित क्षेत्रमा ४५ मिनेट भित्र पुग्न र प्लास्टिकजन्य फोहोरहरु संकलन गर्ने र अन्त्यमा जसको बढी फोहोर संकलन हुन्छ उसैलाई पुरस्कारको व्यवस्था गरि सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा वाईज भिजन इङलिस स्कुलका सुजल महत्तोले ७.५ केजी फोहोर संकलन गरी प्रथम, वाईज भिजन इङलिस स्कुलका चन्दन गुरुङले ५.७ केजी फोहोर संकलन गरी दोस्रो र वाईज भिजन इङलिस स्कुलका कविर घिमिरले ५.६ केजी फोहोर संकलन गरी तृतिय स्थान हासिल गर्न सफल हुुनुभएको थियो । कार्यक्रममा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद रु ३ हजार, २ हजार र १ हजार साथै अन्य ७ जनालाई नगद रु ५ सय प्रदान गरिएको थियो । त्यस्तै अन्य ७ जनालाई समेत जनही रु ५०० उत्प्रेरणा स्वरुप हस्तान्तरण गरिएको थियो । ५० जना भन्दा बढीको सहभागिता रहेको प्रतियोगितामा करिब २ क्विन्टल फोहोर संकलन गरिएको थियो । वडा कार्यालयले वडा भित्रका ४ विद्यालयहरुलाई फोहोरहरु संकलनको लागि डस्टविनहरु हस्तान्तरण गरिएको थियो ।

बालबालिकाहरुलाई बिदाको दिनमा रचनात्मक ढंगबाट सहभागिता गराई वातावरण संरक्षण र फोहोरको दिगो व्यवस्थापनको उपायहरु बारेमा जानकारी दिन प्रतियोगिता संचालन गरेकोमा वाईज भिजन स्कुलका प्रिन्सिपल तिलकचन सापकोटाले खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरु सबैले मासिक रुपमा गर्नुपर्ने र बालबालिकाहरुलाई रचनात्मक ढंगबाट अगाडी लैजान सुझाव दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले फरक र नयाँ तरिकाबाट वाकाथन गरेकोमा आयोजकलाई धन्यवाद दिँदै व्यक्ति स्वस्थ रहनको लागि गर्न सकिने विभिन्न क्रियाकलापहरु वडाले आगामी दिनमा समेत गरी सबै नागरिकलाई स्वस्थ र खुसी राख्नको लागि पहल गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा वडा भित्रका जनप्रतिनिधिहरु, विभिन्न क्लवका प्रतिनिधिहरु, टोल विकास समितिका पदाधिकारीहरु, विद्यालयका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले गर्नुभएको थियो ।

Write your Comment