आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

अनुष्का र प्रितम बने देवचुलीका नमुना नगर प्रमुख र उप प्रमुख

    प्रकाशित २०८१ भाद्र २९, शनिबार (४ दिन अघि)


देवचुली। ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुलीमा बालबालिकालाई नै नमुना नगरप्रमुख र उपप्रमुख बनाइएको छ । नगर बाल सञ्जालका बालबालिकाहरुद्वारा गोलाप्रथा गरी नगर प्रमुख र उपप्रमुख चयन गरिएको हो । गोलाप्रथाद्वारा नगर बाल सञ्जालकी अध्यक्ष रहेकी अनुष्का भण्डारी नमुना नगरप्रमुख र नगर बाल सञ्जालका उपाध्यक्ष रहेका प्रितम कार्की नमुना उपप्रमुख भएका थिए ।

नमुना नगर कार्यपालिकामा नमुना नगरप्रमुख र उपप्रमुखले बालबालिकाबाट पेश गरिएको निवेदनमा छ्लफल गरेका थिए । नमुना नगरप्रमुख भण्डारीले नेपाकलै दोस्रो बालमैत्री नगरपालिकामा बालमैत्री कार्यविधि पुनरावलोकनका लागि आएको मागलाई सम्बोधन गरेकी थिइन् । त्यसैगरी नगरउपप्रमुख बनेका कार्कीले किशोरी आत्मरक्षा कार्यक्रम सञ्चालनका लागि आएको निवेदन कार्यपालिकाबाट पास गराई कार्यक्रमका लागि आवश्यक बजेट विनियोजनका लागि शाखामा महिला बालबालिका शाखामा तोक लगाएका थिए ।

देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीले बालबालिकाहरुले नमुना नगरप्रमुख/ उपप्रमुखको भूमिका निर्वाह गरेको नजिकै बसेर चासोपूर्वक अवलोकन गरेकी थिइन् । उपप्रमुख पार्वता तिवारीले बालबालिकाहरुलाई नगर प्रमुख र उप प्रमुखको जिम्मेवारीको बारेमा जानकारी गराउन नमुना नगरप्रमुख र उपप्रमुख बनाइएको बताइन् । बालमैत्री नगरपालिका भएकाले बालबालिकाका कार्यक्रमहरुलाई नगरले प्राथमिकता दिइरहेको उनले बताईन् । ` बालबालिकाहरुले अवसर पाए सबै काम गर्न सक्षम छन्, अवसरका लागि परिवार, विद्यालय र समाजले सहयोग गर्नुपर्छ´, उले भनिन् ।

देवचुली नगरपालिका – १३ का वडा अध्यक्ष एकदेव पौडेलले बालबालिकाका लागि कार्यक्रमबाट नगर सञ्चालनका बारेमा सिकाई भएको बताए । `कार्यक्रममार्फत बालबालिकाहरुलाई अधिकार सँगसँगै आफ्नो कर्तव्यको बोध गराइएको हो´ वडा अध्यक्ष पौडेलले भने – `बालमैत्री नगरपालिकामा बालबालिका केन्द्रित कार्यक्रम वडा तहबाट संचालन भइरहेका छन् ।´

नगर बाल सञ्जालका अध्यक्ष अनुष्का भण्डारीको अध्यक्षतामा भएको बाल दिवश विशेष कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर बालमैत्री स्थानीय शासन समितिका सदस्य , नगरका कर्मचारी, विभिन्न विद्यालयका शिक्षकलगायत बालबालिकाको उपस्थिति रहेको थियो । नगर बाल सञ्जालका उपाध्यक्ष प्रितम कार्कीले स्वागत गरेको कार्यक्रमको सहजीकरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख विमला लम्साले गरेकी थिइन् ।

Write your Comment