आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

सदरमुकाम संवाद : माननीयहरू फाइलको पछि नलागेसम्म नवलपुरमा सदरमुकाम बन्दैन

    प्रकाशित २०८१ भाद्र १९, बुधबार (१ हफ्ता अघि)


सालिकराम कोइराला, कावासोती । नवलपुरको कावासोतीमा बन्ने भनिएको नमूना सदरमुकामको काम अघि बढ्न नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। संघ र प्रदेशका माननीयहरू फाइल बोकेर मन्त्रालय नधाएसम्म निर्माण प्रकृयाले गति नलिने प्राय: निश्चित जस्तै देखिएको छ।

बुधवार जिल्ला समन्वय समिति नवलपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डिभिजनल वन अधिकृत वशन्त केशव अधिकारीले भने-‘माननीयहरू फाइलको पछि नलागेसम्म सदरमुकाम बन्दैन।’ अहिलेसम्म रूख कटानको फाइल कता छ मेसो छैन। ६ सय ४२ रूख नम्बरिङ गरेर आफुहरूले पठाए पनि फाइल कता छ उनि आफैलाई पत्तो छैन।

राष्ट्रपति तराइ मधेस संरक्षण समितिका श्याम लोप्चनले राम्चेको पहिरोको हाउगुजी देखाउँदै सदरमुकाम बन्न कठिन भएको निराशाजनक प्रस्तुति दिए । उनले राम्चेको पहिरोको बगरले केरूङ्गे खोला उँचा हुँदै गएको सोको रोकथाम गर्न साढे २ अर्बको चेकड्याम बनाउनुपर्छ भने । चुरेले खोला खोल्न नदिएको आरोपको प्रतिवाद गर्दै उनले थपे -‘खोलामा मेशिन प्रयोग गरेर नदिजन्य पदार्थ निकाल्ने, ननिकाल्ने त्यो स्थानीय तहकै निर्णयमा भरपर्ने कुरा हो।’

सघन सहरी तथा भवन निर्माणका इन्जिनियर दोर्णमानदेव कटुवालले भने- सदरमुकामको लागि ५० करोडको स्रोत सहमति भएको छ। रूख कटान सकिएपछि जिल्ला प्रशासन र थप दुईवटा भवन बन्छ। टेण्डर अनुसार काम अघि बढ्छ। रूख कटान नहुँदा काममा ढिलाई भएको उनको तर्क थियो।

राष्ट्रिय योजना आयोगको सहसचिव मनमायाँ पंगेनीले भनिन् – ‘३७ महिना भयो हाम्रा विभागहरू निदाएका रहेछन् अहिले झकझक्याएकी छु।’ वातावरणीय वितण्डा हाम्रा कारणले मात्र हुँदैन यो विश्वव्यापी चिन्ता र चासोको विषय हो।’ चुरेको प्रश्तुतिप्रति उनले कटाक्ष गरिन्। निरासा हैन, आसावादी बनौ।

पूर्व संघीय सांसद तिलक महतले सघन सहरीका इन्जिनियरलाई तत्काल कावासोतीमा साइड अफिस राखेर निर्माणको काम थालिहाल्न भने । उनले काम नगर्ने इन्जिनियरलाई कावासोतीबाट भरतपुर फर्कन नदिने चेतावनी समेत दिए । अघिल्लो मिटिङमा यतै अफिस राख्ने सहमति भएपनि भरतपुरले नटेरेको उनको आरोप थियो । चुरेलाई चेतावनी दिंदै भने- ‘केरूङे खोलाबाट निस्कने नदिजन्य पदार्थको मूल्य निर्धारण गर्नुस् कति हो ? कति अर्ब उठ्छ ? त्यहि पैसाले सदरमुकाम बनाउँछौं । निरासाजनक कुरा गरेर जनतामा भ्रम नछर्नुस्।’

गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसीले राजमार्ग अलपत्र पार्ने चाइनिजलाई कोर्रा हान्नपर्छ, मध्यवर्ती खारेज गर्नपर्छ र यो सदरमुकाम नबनाउनेलाई पनि यस्तै केहि पनिसमेन्ट गर्नपर्छ भने। नेपालको ब्युरोक्र्यासीले सब सक्यो कामै गर्दैन, प्रदेशले धवलागिरी र गण्डकी बाहेक अरूलाई चिन्दैन।नवलपुर कहाँ छ गण्डकी प्रदेशलाई थाहै छैन। यस्तो अवस्थाका कारण सदरमुकाम निर्माणमा चुनौती थपिएको उनको भनाई थियो।

गण्डकी प्रदेशका अर्का सभा सदस्य रोशन बहादुर गाहाले ‘पंचायतकालमा सबै सदरमुकाम बन्यो तर गणतन्त्रमा बनाउन सकिएन’ भन्ने अभिव्यक्ति दिए। उनको अभिव्यक्तिमा सदरमुकाम बनाउनै पर्छ भन्ने खासै इच्छाशक्ति पनि देखिएन।

काग्रेस उपसभापति बालकृष्ण घिमिरेले वन मन्त्रीले रूख कटान आदेश दिइसकिएको छ भने । तर यता काम अलपत्र छ किन हो ? भनि प्रतिप्रश्न गरे। एमाले सचिव भिम कंडेलले सघन सहरीलाई तत्काल कावासोतीमा अफिस राखी सदरमुकमको काम अघि बढाउन भने।

राप्रपा सचिव गुणाखर काफ्लेले भने- संघको चुनावमा तिलक महत हारेपछि सदरमुकामको दुर्दशा लाग्यो । म उनको भोटर त हैन तर महतको पालामा काम भएको हो अहिले ठप्प भयो । संघीय संसदमा दिग्गज सांसद विपिपुत्र शशाङ्क र विष्णु कार्की हुनुहुन्छ वहाँहरूको भुमिका देखिएन किन हो ? भन्दै उनले शशाङ्कप्रति इसारा गरे।

संघीय सांसद शशाङ्क कोइरालाले भने मलाई यस बारेमा धेरै कुरा थाहा थिएन। अब थाहा भयो । मन्त्रालयमा थप बजेट माग गरेर अत्यन्त राम्रो नमुना सदरमुकाम बनाउन लाग्छौ। संरक्षणकर्मी डिबी चौधरीले सदरमुकाम निर्माण क्षेत्रमा लोपोन्मुख गिद्वका प्रजाति पनि छन् तिनलाई संरक्षण गरेर पनि नमूना सदरमुकामको झल्को दिन सकिन्छ।

Write your Comment