आज:  २०८१ भाद्र ३१, सोमबार | Mon, 16, Sep, 2024 Search
FLASH NEWS

सेभेन ए साइड फुटबल प्रतियोगिता : शुक्रबार प्रगतिकला मन्दिर र मातृभुमि युवा क्लब विजयी

    प्रकाशित २०८१ भाद्र १४, शुक्रबार (२ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकामा संचालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबार प्रगतिकला मन्दिर युवा क्लब `बी´ र मातृभुमि युवा क्लब बिष्णुनगर विजयी भएका छन् । हरितालिका तीजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना माविको खेलमैदानमा प्रगतिकला मन्दिर युवा क्लब `बी´ र देवचुली अन्डर १९ बीच भएको पहिलो खेलमा प्रगतिकला मन्दिर युवा क्लब `बी´ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलमा प्रगतिकला मन्दिर युवा क्लब `बी´ले देवचुली अन्डर १९ लाई ट्राइबेकरमा ३-२ गोल अन्तरले हराएको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट १/१ को बराबरी गोल भएपछी खेल ट्राइबेकरमा गएको हो । पहिलो खेलमा प्रगतिकला मन्दिर युवा क्लब `बी´का कुसुम घिमिरे म्यान अफ दि म्याच भएका हुन् ।


शुक्रबार नै भएको मातृभुमी युवा क्लबका विरुद्ध पिठौली चौर युवा क्लब बिचको खेलमा मातृभुमी युवा क्लब विजयी भएको छ । मातृभुमी युवा क्लबले पिठौली चौर युवा क्लबलाई १-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा मातृभुमी युवा क्लबका प्रकाश म्यान अफ दि म्याच भएका हुन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार ५ सय ४५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।


त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक सुमन आलेले जानकारी दिए ।

Write your Comment