देवचुली । देवचुली नगरपालिकामा संचालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा बिहीबार फाराम खेलकुद विकास समिति र अभिषेक चर्च विजयी भएका छन् । हरितालिका तीजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना माविको खेलमैदानमा फाराम खेलकुद विकास समिति र कावासोती ब्रदर्शबीच भएको पहिलो खेलमा फाराम खेलकुद विकास समिति विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलमा फाराम खेलकुद विकास समितिले कावासोती ब्रदर्शलाई १-० गोल अन्तरले हराएको हो । पहिलो खेलमा फाराम खेलकुद विकास समितिका सन्दिप तामाङ म्यान अफ दि म्याच भएका हुन् ।
बिहीबार नै भएको अभिषेक चर्च रजहर (बी) का विरुद्ध भगवती एकता युवा क्लब कावासोती बिचको खेलमा अभिषेक चर्च रजहर (बी) विजयी भएको छ । अभिषेक चर्च रजहर (बी) ले भगवती एकता युवा क्लबलाई ३-२ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा अभिषेक चर्च रजहर (बी) का सुजित बुढाथोकी म्यान अफ दि म्याच भएका हुन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार ५ सय ४५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक सुमन आलेले जानकारी दिए ।