देवचुली । देवचुली नगरपालिकामा संचालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा बुधबार अभिषेक चर्च र कावासोती युवा क्लब विजयी भएका छन् । हरितालिका तीजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना माविको खेलमैदानमा अभिषेक चर्च रजहर र नवरंगी युवा क्लब लोकाहाबीच भएको पहिलो खेलमा अभिषेक चर्च रजहर विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलमा अभिषेक चर्चले नवरंगीलाई १-० गोल अन्तरले हराएको हो । पहिलो खेलमा अभिषेक चर्च रजहरका विमश मगर म्यान अफ दि म्याच भएका हुन् ।
बुधबार नै भएको कावासोती युवा क्लब, कावासोतीका विरुद्ध देवचुली युथ क्लब दलदले बिचको खेलमा कावासोती युवा क्लब विजयी भएको छ । कावासोती युवा क्लबले देवचुली युथ क्लबलाई ट्राईबेकरमा ३-२ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरहित बराबरी भएपछी खेल ट्राईबेकरमा गएको थियो । दोस्रो खेलमा कावासोती युवा क्लबका दावा तामाङ म्यान अफ दि म्याच भएका हुन् ।
प्रथम हुने टिमले नगद ४५ हजार ५ सय ४५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक सुमन आलेले जानकारी दिए । प्रतियोगिता अन्तरगत बिहीबार फारम खेलकुद समितिका विरुद्ध स्याउली युवा क्लब र अभिषेक चर्च `बी´ विरुद्ध भगवती एकता युवा क्लबबिच खेल हुने आयोजकले जनाएको छ ।