देवचुली । देवचुली नगरपालिकामा संचालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार राइनो रिसोर्ट र लक्ष्मीपुर युवा क्लब विजयी भएका छन् । हरितालिका तीजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना माविको खेलमैदानमा देवचुली योङ स्टार र राइनो रिसोर्टबीच भएको पहिलो खेलमा राइनो रिसोर्ट विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलमा राइनो रिसोर्टले देवचुली योङ स्टारलाई १-० गोल अन्तरले हराएको हो । पहिलो खेलमा राइनो रिसोर्टका प्रकाश पुन म्यान अफ दि म्याच भएका हुन् ।
सोमबार नै भएको लक्ष्मीपुर युवा क्लब विरुद्ध नमुना फुटबल क्लब बी बिचको खेलमा लक्ष्मीपुर युवा क्लब विजयी भएको छ । लक्ष्मीपुर युवा क्लबले नमुना बी लाई १-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा लक्ष्मीपुर युवा क्लबका विवेक भुर्तेल म्यान अफ दि म्याच भएका हुन् ।
प्रथम हुने टिमले नगद ४५ हजार ५ सय ४५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक सुमन आलेले जानकारी दिए । प्रतियोगिता अन्तरगत मंगलबार दुई वटा खेलहरु संचालन हुनेछन् ।