देवचुली । देवचुली नगरपालिकामा संचालित प्रथम सेभेन ए साइड फुटबल प्रतियोगितामा आइतबार रजहर फुटबल क्लब विजयी भएको छ । हरितालिका तीजको अवसरमा प्रगतिकला मन्दिर युवा क्लबको आयोजनामा जन ज्योति नमुना माविको खेलमैदानमा नमुना फुटबल क्लब र रजहर फुटबल क्लबबीच भएको खेलमा रजहर फुटबल क्लब विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलमा रजहरले नमुनालाई २-० गोल अन्तरले हराएको हो । आइतबारको खेलमा नमुना फुटबल क्लबका दिप्सन थापा म्यान अफ दि म्याच भएका हुन् ।
प्रथम हुने टिमले नगद ४५ हजार ५ सय ४५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको छ ।
प्रगतिकला मन्दिर युवा क्लबका वरिष्ठ उपाध्यक्ष ठाकुर न्यौपानेको अध्यक्षतामा भएको फुटबल प्रतियोगिताको समुदघाटनमा देवचुली १४ का वडा अध्यक्ष गोपाल थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि वडा सदस्यहरु, विभिन्न संघसंस्था तथा सहयोगी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा प्रतियोगिताको समुदघाटन गरिएको हो ।