नवलपुर । बालबालिकाहरुको समग्र विकास र संरक्षणमा नेपाल सरकार प्रतिबद्ध रहेको नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भटराईले बताउनुभएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलनको सहयोगमा देवचुली १० मा निर्माणाधीन अवस्थामा रहेको बालिका सिकाई तथा स्रोत केन्द्रमा बालिका अधिकार संरक्षणमा सरोकारवालाको भुमिका विषयक अन्तरकृयामा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले विद्यालयमा खुवाईने गरेको दिवा खाजाको गुणस्तरीयता र पोषणको लागि मन्त्री पदको कार्यभार लिँदै गर्दा पहिलो निर्णय गरेको र अब स्थानीय सरकार, विद्यालय र समुदायसँग मिलेर यो अभियान सुरु गर्ने बताउनुभयो । रैथाने र स्थानीय खाद्य सामग्रीहरुको प्रयोग हुने गरी दिवा खाजालाई व्यवस्थित, गुणस्तरीय बनाउने साथै स्थानीय स्तरको समग्र कृषि प्रणालीलाई समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।
त्यस्तै उहाँले विद्यालयमा बालिकाहरु र किशोरीहरुको लागि महिनावारी सरसफाई र सेनेटरी प्याडको गुणस्तरीय उपलब्धता र प्रयोगमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । महिनावारी प्रजनन स्वास्थ्यसँग जोडिएको विषय भएकोले पनि यसको बारेमा स्थानीय सरकारले पनि विभिन्न अभियानहरु र कार्यक्रमहरु गरी स्वस्थ किशोरीहरु निर्माणमा लाग्नुपर्ने उहाँले बताउनुभयो । प्याडको कारणले कोही पनि बालिकाहरु विद्यालय शिक्षाबाट बन्चित हुनबाट रोक्नका लागि सरकारले काम गर्ने र सम्मानित जिवन जिउने वातावरण सृजनामा लाग्ने उहाँले बताउनुभयो । त्यस्तै विद्यालयमा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्नका लागि बालक्लबहरुको गठन र परिचालन गर्ने विद्यार्थीहरुलाई खुसी साथ विद्यालयमा आई सिक्न र अतिरिक्त विषयहरुको बारेमा समेत जानकारी दिन सम्भव हुने उहाँले बताउनुभयो ।
सो अन्तरकृया र छलफल कार्यक्रममा देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवारीले नेपालको दोस्रो बालमैत्री नगर देवचुली रहेको र यो बालिका सिकाई केन्द्रको निर्माणले बालिकाहरुको अधिकार र संरक्षणको लागि समेत काम गर्न हौसला मिलेकोले बालिकाहरुको सशक्तिकरण र संवर्द्धनमा लाग्ने बताउनुभएको थियो ।
जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बालिका सिकाई तथा स्रोत केन्द्रको स्थापनाको उद्धेश्य र यसको दिगोपनको लागि स्थानीय सरकारले साझेदारी गर्न सकीने क्षेत्रहरुको बारेमा बताउँदै सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी स्थानीय तहका महिला जनप्रतिनिधिहरु नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु एवं अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।