काठमाडौं । एक विद्यालय एक नर्स कार्यक्रमलाई देशभरका माध्यमिक विद्यालयमा कार्यान्वयन गराउनका लागि देवचुलीका निर्मल गौतमले शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण गराएका छन् । भाद्र १ गते राष्ट्रिय बाल सम्मेलनको समापन समारोह उपस्थित शिक्षामन्त्रीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै गौतमले सबै विद्यालयमा कार्यक्रम विस्तारका लागि अनुरोध गरेका हुन् ।
कक्षा १२ मा अध्ययनरत गौतमले एक विद्यालय एक नर्स कार्यक्रमबाट विद्यालयका बालबालिकाहरुमा अचानक आइपर्ने स्वास्थ्य समस्या समाधान गर्न अत्यन्त ठूलो भुमिका खेल्ने भएकाले कार्यक्रमलाई देशव्यापी रुपमा संचालनका लागि मन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् । एक विद्यालय एक नर्स कार्यक्रम लागु भएका विद्यालयहरुमा नेपाल सरकार र प्रदेश सरकारको योजना अनुसारको काम भए/ नभएको अनुगमन गर्न समेत ध्यानाकर्षण पत्रमा भनिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै शिक्षामन्त्री विद्या भट्टराईले एक विद्यालय एक नर्स कार्यक्रमको बारेमा आफुले बुझ्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।