आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

विद्युतको लापरबाहीले कावासोतीमा लाखौंको सामग्रीमा क्षति

    प्रकाशित २०८१ भाद्र ४, मंगलबार (३ महिना अघि)


कावासोती, ४ भदौ । कावासोतीमा सोमबार हाई भोल्टेज विद्युत प्रवाह हुँदा लाखौँको विद्युतीय सामग्रीमा क्षति पुगेको छ । कावासोती नवदुर्गा चोक आरम्भ एकेडेमी आसपासका करिव ५० बढी घरको विद्युतीय सामग्रीमा क्षति पुगेको उपभोक्ताले गुनासो गरेका छन् । नव दुर्गा चोकमा मिष्ठान्न पसल र दुग्ध डेरी सञ्चालन गरेका कृष्ण मरासिनीले डिस्प्ले काउन्टर, फ्रिज, डिफ्रिज, बल्ब, पङ्खा लगायतका सामग्रीमा क्षति पुगेको बताए । उनका अनुसार करिव पाँच लाख बराबरको क्षति पुगेको छ ।

त्यस्तै डिलर सञ्चालक राजु अधिकारीको एसी, ल्यापटप पंखामा क्षति पुगेको छ भने राधिका पोख्रेलको बल्ब, पंखामा क्षति पुगेको बताएका छन । यस्तै रामकृष्ण पुडासैनीको एसी, बल्बमा क्षति पुगेको छ भने सावित्री घिमिरेको दुई वटा पङ्खा र बल्बमा क्षति पुगेको छ । अन्य ५० बढी उपभोक्ताहरूका लाखौँ रुपैयाँ पर्ने विद्युतीय सामग्रीमा क्षति पुगेको गुनासो गरेका छन् ।

स्थानीयले विद्युतको लापरवाहीकै कारण भएको हुँदा क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् । पीडित मरासिनीले एकातिरको लाइन अर्कोतर्फ जोड्दा हाई भोल्टेज प्रवाह हुन पुगेको सूचना आफूले पाएको बताएका छन् । यस विषयमा बुझ्नका लागि काम गर्दै आएको ठेकेदारसँग फोन मार्फत कुरा समेत गरेको तर आफू बाहिर रहेको कारण जानकारी नआएको बताएको उनले बताए ।

यता विद्युत प्राधिकरण कावासोतीका प्रमुख सूर्यनारायण मण्डलले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताए । सोमबार बिदाको दिन भएकाले कार्यालय बन्द रहेको र बिदाको दिन काम नहुने बताएका छन् । उनले मंगलबार कार्यालय समयमा यस बारेमा बुझेर मात्रै के कारणबाट यस्तो भएको हो बल्ल जानकारी दिनसक्ने बताए ।

सभापति चोकदेखि नवदुर्गा चोक सम्म केही दिन अघिबाट नयाँ पोल गाडेर तार टाग्ने काम चलिरहेको छ । उक्त काममा खटिएका केही कामदार मादक पदार्थ सेवन गरेर काममा खटिएको देखेको स्थानीयको भनाई छ ।

अदक्ष कामदारबाट नै काम हुँदा हाई भोल्टेज प्रवाह हुन पुगेको स्थानीयको भनाई छ । यस विषयमा छानविन हुनुपर्ने र तत्काल क्षतिपूर्ति दिइनुपर्ने पीडितको माग छ ।

Write your Comment