देवचुली । राष्ट्रिय बाल सहभागिता दिवसको अवसरमा देवचुली १० मा हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपाल र जागृति बाल क्लव नेपालको आयोजना, क्यान्नलानको सहयोग तथा कन्सोर्टियम नेपाल र पृथ्वी माध्यमिक विद्यालयको समन्वयमा पृथ्वी माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो ।
हाजिरीजवाफ प्रतियोगिता ६ वटा सदन अनुसार समुह निर्माण गरिएको थियो । जसमा प्रत्येक समुहमा ४/४ जना गरि जम्मा २४ जनाको सहभागिता रहेको थियो । हाजिरीजवाफमा गणित, विज्ञान, खेलकुद, समसामयिक, स्वास्थ्य, बालबालिका तथा श्रव्यदृश्य सम्बन्धित ६ राउन्डमा विविध प्रश्नहरू सोधिएको थियो ।
प्रतियोगितामा सोमबार समुहका रितिका रानाभाट, कृतिका न्यौपाने, दिसान्त भुसाल, सुन्दर रानाभाट प्रथम भएका छन् भने बिहीबार समुहका दिप्सिका भुसाल, विमोचन न्यौपाने, निशा पाण्डे, प्रसिद्ध भट्टराई द्वितीय भएका छन् । त्यसै गरि आइतबार समुहका सोनु वि.क., सिम्रन भुसाल, विराज केसि, अर्चिता आले तृतीय भएका छन् भने अन्जु न्यौपाने, राम न्यौपाने, आसिका बिक, स्नेहा न्यौपानेले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
जागृति बाल क्लब नेपालका अध्यक्ष प्रितम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत राधा देवी बोटे प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि पृथ्वी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक डिलाराम भुसाल, शिक्षकशिक्षिकाहरु, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा शिक्षक विनोद पोख्रेलले कार्यक्रम संचालन गर्नु भएको थियो ।
जागृति बाल क्लब नेपालले बाल क्लब दर्ता गर्न पाउनु पर्ने भन्दै तत्कालीन नेपाल सरकारलाई विपक्षी गराई हालेको रिटमा बालक्लब दर्ताको फैसला आएको दिन श्रावण २५ को सम्झनामा विभिन्न कार्यक्रमहरु गरि देशभर दिवस मनाईने गरिएको छ ।