देवचुली । देवचुली ९ मा रहेको कालिका माध्यमिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकबिच अन्तरक्रिया गरिएको छ । विद्यालयमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीका अभिभावकहरुलाई दुई समुहमा अभिभावक भेला एवम् अन्तरक्रिया गरिएको हो ।
भेलामा प्रथम त्रैमासिक परीक्षाको उतरपुस्तिका विद्यार्थी र अभिभावकलाई सँगै राखेर प्रदर्शन गरिएको थियो। कार्यक्रममा प्रत्येक विद्यार्थीको व्यक्तिगत फाइल र स्लाइड निर्माण गरेर प्रदर्शन गरिएको थियो । प्रविधिको प्रयोग गर्दै विद्यार्थीहरुको सबै तथ्यांकलाई संकलन गरिएको र आवश्यक पर्दा जुनसुकै बेला पनि हेर्न सकिने विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले जानकारी दिनुभयो । कालिकाको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयले निरन्तर सरोकारवालासँग छ्लफल गरिने उहाँले बताउनुभयो । दुई समुहमा भएको अभिभावक भेलामा लगभग सबै अभिभावक उपस्थिति रहेको र आगामी दिनमा पनि यस्तै सहभागिताको लागि उहाँले अभिभावकलाई अनुरोध गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसाल, देवचुली ९ का अध्यक्ष बलिराम सापकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष तुलसी अर्याल, पुर्व वडा अध्यक्ष मेखबहादुर थापा सारु मगर, पुर्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु, पुर्व प्रधानाध्यापकहरु, स्थानीय समाजसेवी तथा बुद्धिजिवीलगायतको उपस्थिति रहेको थियो ।
अभिभावक भेलामा उपस्थित अभिभावकहरूलाई स्थानीय मौरीपालक अभिभावकबाट उपलब्ध भएको मह र पानी मिसाएर दिइएको विद्यालयले जनाएको थियो । विद्यालयलाई मेखबहादुर सारू, खिमानन्द भुसाल, यदु कडेल, राजेन्द्र रावल, बुद्धि सागर भुसालले मह उपलब्ध गराउनु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि सागर भुसालले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यार्थी, अभिभावक र शिक्षकबिच अन्तरक्रिया हुनुपर्ने बताउनुभयो । अभिभावकहरुले आफ्ना बालबालिकालाई घरमा ख्याल गरि पठनपाठन गराउनुपर्ने र उनीहरुको व्यक्तिगत गतिविधिमा निगरानी राख्नुपर्ने उहाँले बताउनुभयो । अभिभावकहरुलाई विद्यालयमा आएर आफ्ना बालबालिकाको शैक्षिक गतिविधि बुझ्न सकिने हुनाले समय समयमा विद्यालय आउनका लागि समेत उहाँले अनुरोध गर्नुभएको थियो ।