आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

न्यौपानेद्वारा लिखित पुस्तक `ज्ञानको बाटो समातौँ´ सार्वजनिक

    प्रकाशित २०८१ श्रावण १९, शनिबार (१ महिना अघि)


देवचुली ।देवचुली नगरपालिका वडा नम्बर- ११ निवासी दुर्गाप्रसाद न्यौपानेद्वारा लिखित पुस्तक `ज्ञानको बाटो समातौँ´ सार्वजनिक भएको छ । सरस्वती अर्याल, मीना अधिकारी र भानु न्यौपानेले प्रकाशन गरेको उक्त पुस्तकको श्री १००८ स्वामी स्वरुपानन्द सरस्वतीजी महाराजले विमोचन गरेका हुन् ।

जीवनका आम भोगाइलाई पुस्तकमा उतारेका न्यौपानेले आफ्ना अनुभव, अनुभूतिहरुसमेत प्रस्तुत गरेका छन् । जीवनकालमा सिकेका कुराहरु, हामीले कसरी जीवन संचालन गर्नपर्छ र अबको पिँढी कसरी अगाडि बढनुपर्छ भन्ने कुरा न्यौपानेले उक्त पुस्तकमा लेखेका छन् ।

७४ वर्षीय न्यौपानेले २०८० असोज १५ गते पहिलो पुस्तक `अज्ञानमा फसेको जीवन´ सार्वजनिक गरेका थिए । दोस्रो पुस्तकका रुपमा शनिबार विमोचन गरिएको पुस्तकमा आफ्ना तितामिठा अनुभव, संघर्षलगायत आगामी पिँढीका लागि सुझावहरु प्रस्तुत गरेका छन् ।

लेखक दुर्गाप्रसाद न्यौपानेको अध्यक्षतामा निजी निवासमा भएको पुस्तक विमोचन समारोहमा श्री १००८ स्वामी स्वरुपानन्द सरस्वतीजी महाराजको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी देवचुली नगरपालिकाका नगर प्रवक्ता तिलप्रसाद काफ्ले, विभिन्न संघसंस्थाका प्रतिनिधि, शैक्षिक तथा सामाजिक व्यक्तित्व तथा न्यौपानेका छिमेकीहरुको उपस्थिति रहेको थियो ।

समारोहमा महाराजले न्यौपानेद्वारा लिखित पुस्तकको बारेमा चर्चा गर्दै पुस्तकले आध्यात्मिक र व्यवहारिक ज्ञान दिएको बताए । पुस्तक पढेपछी नसकेसम्म कौतुहल बनाउने खालको रहेको र पुस्तक पढेर सिक्नुपर्ने धेरै कुरा रहेको उनले बताए । विमोचन समारोहमा पुस्तकको सम्पादन गरेका टीकाराम रेग्मीले पुस्तकमा भएका मुख्य कुराहरुको जानकारी गराएका थिए ।

विमोचन समारोहमा दोलकान्त अर्यालले स्वागतसहित पुस्तक निर्माणका लागि लेखकले गरेका संघर्षका बारेमा बताएका थिए भने सो समारोहको सहजीकरण शैक्षिक व्यक्तित्व धर्मदत भुसालले गरेका थिए ।

Write your Comment