देवचुली । देवचुली १२ मा रहेको दिव्य ज्योती आधारभूत विद्यालयले शैक्षिक सत्र २०८१ को प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा भरतपुर निवासी डा. केशवराज भुर्तेल, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नारायणदत्त भुर्तेल विशेष अतिथि रहनु भएको थियो । देवचुली नगरपालिका वडा नम्बर १२ का शैक्षिक तथा सामाजिक व्यक्तित्व रामप्रसाद भुर्तेल तथा ॠषि भुर्तेल अतिथि रहनु भएको थियो ।
प्रथम त्रैमासिक परीक्षाको परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरणको अवसर पारेर विद्यालय स्थापना देखि हालसम्म विद्यालयको शैक्षिक उन्ननयनका लागि आर्थिक र भौतिक सहयोग गर्नुभएका डा. केशवराज भुर्तेलले वर्तमान अवस्थामा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै विपन्न र जेहन्दार विद्यार्थीहरुको शैक्षिक विकास र छात्रवृत्तिमा सहायता होस् भन्ने उदेश्य सहित रु २ लाखको अक्षयकोष स्थापना गर्नु भएको छ । स्वर्गिय पिता दिनानाथ भुर्तेल र स्वर्गिय माता बसुन्धरा भुर्तेलको स्मृतिमा स्थापित उक्त अक्षयकोष भुर्तेल परिवारका छोराहरु डाक्टर केशवराज भुर्तेल, नारायणदत्त भुर्तेल, ईन्जिनियर हुमकान्त भुर्तेल तथा डा. डिल्लिराम भुर्तेलले स्थापित गर्ने गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर पौडेल तथा प्रधानाध्यापक मैना कुमारी श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको थियो ।