आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

डाक्टरलाई सौर्यका पाइलटले सुनाए: सय फिटमाथि गएपछि जहाज कन्ट्रोल गर्न सकिनँ

    प्रकाशित २०८१ श्रावण १०, बिहिबार (१ महिना अघि)


काठमाडौँ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी छन् ।

क्याप्टेन शाक्यको आँखा, नाक र टाउकोमा चोट रहेको, ढाडको एउटा हड्डीका साथै देव्रेतर्फका तीन वटा करङ भाँचिएको अवस्था रहेको डा. थापाको भनाइ छ । ‘आँखा, नाक र टाउकोमा लागेका चोटको बुधबार नै उपचार गरिसकिएको छ,’ उनले भनिन् ।

दुर्घटनामा घाइते भई उपचाररत क्याप्टेन शाक्यको अवस्थाबारे काठमाडौं मेडिकल कलेजले बिहीबार दिउँसो विज्ञप्ति निकालेरै जानकारी गराएको छ । घाइते क्याप्टेन शाक्यको बुधबारदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। क्याप्टेन शाक्यले डा. थापासँग जहाज दुर्घटनाका सन्दर्भमा केही कुरा सुनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट जहाज उडाएर ५०-१०० फिटमाथि पुर्‍याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन शाक्‍यको भनाइ छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा उडेको जहाज केहीबेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो । जहाज दुर्घटनामा परेर १७ जना नेपाली र एक जना विदेशीको निधन भएको थियो भने क्याप्टेन शाक्य घाइते भएका थिए। अस्पतालकी निर्देशक डा.थापाले क्याप्टेन शाक्यसँग गरेको कुराकानी उद्धृत गर्दै जानकारी दिएकी छन् । ‘जहाज उडाउन कोसिस गर्दै थिएँ, ५०-१०० फिट माथि गएको थियो। त्यसपछि कन्ट्रोल गर्न सकिनँ,’ क्याप्टेन शाक्यले बताएको कुरा उद्धृत गर्दै निर्देशक डा. थापाले भनिन्, ‘छिनमै जहाज तल झर्‍यो, मचाहिँ कता-कताबाट बाहिर निस्किएँ।’

शाक्यलाई आइसियूमा राखेर उपचार गरिएको छ ।

Write your Comment