आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

बुटवल-पाल्पा सडक आजदेखि रातिमा बन्द

    प्रकाशित २०८१ श्रावण ९, बुधबार (२ महिना अघि)


पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति न्यूनिकरण गर्नका लागि रातिको समयमा सवारी साधन आवागमन पूर्णरुपमा बन्द गरिएको छ । साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को व्यवस्था नभएसम्म सम्पूर्ण सवारी साधन आवतजावत गर्न बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा अनुमति लिन आग्रह गरिएको छ ।

ठूलो पानी परेको वा सडकमा थप क्षति भएको खण्डमा प्राविधिकको रायबमोजिम आकस्मिक रुपमा जुनसुकै समयमा आंशिक वा पूर्णरुपमा सवारी साधनहरु आवतजावत गर्न बन्द गरिने प्रमुख जिल्ला अधिकारी काफ्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ । डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भइरहेको छ । सडक अत्यन्तै जोखिमपूर्ण रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले आग्रह गरेको हो । अत्यावश्यकीय मालवाहक साधनबाहेकका साधनहरु नचलाउन आग्रह गरिएको छ ।

सडक जुनसुकै अवस्थामा पनि बन्द हुने तथा प्राविधिकले समय समयमा जाँच गरेर मात्र सवारी साधन चलाउनुपर्ने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताए ।

Write your Comment