आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

देवचुली ९ मा किशोर किशोरीका लागि नेतृत्व विकास, उदघोषण तथा क्षमता अभिवृद्धि तालिम सुरु

    प्रकाशित २०८१ श्रावण ७, सोमबार (२ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा किशोर किशोरीका लागि नेतृत्व विकास, उदघोषण तथा क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आयोजना तथा देवचुली खबर, जागृति बाल तथा युवा सरोकार नेपाल र कालिका माध्यमिक विद्यालयको समन्वयमा ५ दिनसम्म कालिका माध्यमिक विद्यालयमा तालिमको संचालन गरिएको हो ।


आफ्नो वडामा रहेका बालबालिकाहरुलाई विभिन्न कार्यक्रममा सक्रिय बनाउन, विद्यालयका अतिरिक्त क्रियाकलापका कार्यक्रम संचालन गर्न लगायत अनलाइन सुरक्षा सचेतना प्रवाह गर्नका लागि तालिमको आयोजना गरिएको देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाले बताउनुभयो । वडाले गर्ने कार्य र वडासँग बालबालिका सहकार्यमा गर्न सकिने कार्यक्रमको बारेमा समेत तालिममा छ्लफल गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार आफ्ना वडाका बालबालिका अन्य वडाका बालबालिकासँग प्रतिष्पर्धा गर्न सक्षम बनाउनका लागि तालिमले सहयोग पुग्नेछ।

कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि सागर भुसालको अध्यक्षतामा भएको तालिमको उदघाटनमा देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा कालिका माध्यमिक विद्यालय अभिभावक संघका अध्यक्ष तुलसी अर्याल, विद्यालयका प्रधानाध्यापक नवराज घिमिरे, नगर बाल संजाल देवचुलीका उपाध्यक्ष प्रितम कार्की, विद्यालयका शिक्षकलगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


साउन ११ गतेसम्म संचालन हुने तालिमले आफ्ना विद्यार्थीहरुलाई विभिन्न ज्ञान प्राप्त हुने भएकाले राम्रोसँग तालिममा सहभागी भइ त्यसमा सिकेको सीपलाई व्यवहारिक जिवनमा लागु गर्न सके तालिम फलदायी हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि सागर भुसालले बताउनुभयो । वडाले आफ्ना विद्यालयका बालबालिकाको लागि नेतृत्व तथा क्षमता अभिवृद्धि गर्नका तालिमको संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा शैक्षिक सुधारका लागि सहयोग गर्न समेत उहाँले अनुरोध गर्नुभएको थियो ।

तालिमको पहिलो दिन देवचुली खबरका प्रबन्ध निर्देशक राजु चापागाई साइबर सुरक्षा र सामाजिक संजालको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । कालिका माध्यमिक विद्यालयका कक्षा ८ र १० का विद्यार्थीहरु सहभागी तालिममा फरक फरक विषयमा सहजीकरण गरिनेछ ।

विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले तालिमले विद्यार्थीलाई फाइदा गर्ने बताउनुभयो । बिदाको समयमा अतिरिक्त ज्ञान हासिल गर्न र नेतृत्व विकास गर्नका लागि सहयोग पुग्ने उहाँले बताउनुभयो । सो तालिमको उद्घाटन सत्रको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक डिलप्रसाद भुसालले गर्नुभएको थियो ।

Write your Comment