आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

बजारमा आइपुगे बन्दिपुरका `भुइँकटहर´

    प्रकाशित २०८१ श्रावण ५, शनिबार (१ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा न ५ को बन्दिपुर गाउँ उत्पादित भुुइँकटहर बजारमा आइसकेको छ । गाउँ यति बेला भुइँकटहरमय भएको छ । गाउँका पाखापखेरामा विगत भन्दा यो साल धेरै मात्रामा भुइँकटहरको उत्पादन भएको छ । उत्पादनमा वृद्धि भए सँगैै बजारसम्म पुर्‍याउन स्थानीय किसानहरुलाई भ्याइनभ्याई भएको छ ।


केही वर्ष अघि बाटो नहुँदा बन्दिपुरको भुइँकटहर बजार सम्म ल्याउन गाह्रो थियो, स्थानीयले डोकोमा बोकेर दलदले, कदमपुरसम्म ल्याएर बेच्नुपर्ने बाध्यता अहिलेलाई हटेको छ । उत्पादन भएको स्थानमा गाडी लगेर भुइँकटहर बिक्रीलाई लोड गर्दै गरेका तुल बहादुर फाल मगर विगत २२ वर्षदेखि भुइँकटहर खेती गर्दै आएका छन् । करिब ३ हेक्टर क्षेत्रफलमा भुइँकटहर लगाएका उनले यस वर्ष १५ दिनमा ५ हजार गोटा भुइँकटहर बिक्री गरिसकेका छन् । अझै ५/६ हजार गोटा भुइँकटहर बिक्री गर्ने उनले बताए। किर्तिपुर हुँदै बन्दिपुर आउने बाटो कालोपत्र भएपछी दलदले,कावासोती हुँदै बुटवल भैरहवासम्म गाडीमा भुइँकटहर बिक्री गर्न सहज भएको उनले बताए । ` पहिला भरियालाई ज्याला दिएर बजारमा लगि भुइँकटहर बेच्नुपर्ने बाध्यता थियो, सिजनमा १ लाख ६० हजार ज्याला दिनुपर्थ्यो, अहिले बाटोले गर्दा आफ्नै बारीमा गाडी ल्याएर भुइँकटहर बेच्न लैजान सहज भएको छ ´ उनले भने ।

गत वर्ष खर्च कटाएर २ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका तुलबहादुरले यस वर्ष ३ लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने बताए । `पाखा बारीमा लगाएको भुइँकटहर वर्षमा एक पटक गोडमेल गर्दै आएका छौं, अन्य खेतीको काम र पशुपालनको काममा पनि लाग्नुपर्ने भएकाले धेरै समय दिन सकेका छैनौं, केही बढी मेहनत गरे उत्पादन बढाउन सकिन्छ´ उनले भने । `प्रतिगोटा ५५ देखि १०० रुपैयाँसम्म होलसेलमा बिक्री हुने गरेको भुइँकटहर खरिदका लागि गाउँमा नै व्यापारीहरु आउने गरेका छन्´ उनले बताए । गाउँमा सबै एकजुट हुन सके भुइकहरको राम्रो मुल्य पाउन सकिने कुरामा उनले जोड दिए ।

तीस वर्ष अघि देखि भुइँकटहर खेती गर्दै आएका होमबहादुर दिसुवा भुइँकटहर टिप्नमा व्यस्त छन् । करिब १ हेक्टरमा खेती गरेका उनले ५०० गोटा भुइकटहर बिक्री गरिसकेका छन् । यस वर्ष ५० देखि ६० हजार रुपैयाँको भुइँकटहर बिक्री हुने उनको अनुमान छ । `बाटो कालोपत्र भएपछी बजारमा भुइँकटहर पुर्‍याउन सहज त भएको छ तर किर्तिपुरको खोलामा पुल भए अझै राम्रो हुन्थ्यो´ उनले भने ` १/२ घण्टा पानी पर्‍यो भने खोलामा बाढी आएर बजारसम्म पुग्न गाह्रो हुन्छ ।´ गाडीले १ डोको भुइँकटहर बजारसम्म पुर्‍याएको १ सय ५० रुपैयाँ भाडा लिने गरेको उनले जानकारी दिए । देवचुली नगरपालिका तथा कृषि ज्ञान केन्द्र नवलपुरबाट भुइकटहर खेतीको अवलोकन गर्न आउँदा आफुहरुले भुइँकटहर टिप्न र गोडमेल गर्नका लागि पन्जा, जुत्ता, ड्रेस लगायतको आवश्यक सामग्रीको माग गरेको र सो सामानहरु उपलब्ध गराएमा काम गर्न सहज हुने उनले बताए ।

तुलबहादुर र होमबहादुर मात्र नभई बन्दिपुरका करिब ४० जना किसानहरु भुइँकटहर खेतीमा लागेका छन् । दुई सिजन उत्पादन हुने भुइँकटहरलाई गत वर्ष करिब ५० लाख रुपैयाँ बिक्री गरेका थिए भने यस वर्ष सो भन्दा बढीको बिक्री हुने स्थानीयले बताए ।

देवचुली नगरपालिकाको बन्दिपुर गाउँलाई भुइँकटहरको पकेट क्षेत्र निर्माण गर्ने गरि यस वर्षका लागि विभिन्न कार्यक्रमहरु योजना गरिएको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए । बन्दिपुरको भुइँकटहरको बजारीकरणका लागि पालिकाले सहयोग गर्दै आएको र अन्य संघसंस्थाहरुसँग मिलेर किसानहरुलाई भुइँकटहर खेती तर्फ आकर्षित गर्ने गरि काम गरिने उनले बताए ।

Write your Comment