आज:  २०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024 Search
FLASH NEWS

पूर्वी र मध्य नेपालमा शनिबारसम्म भीषण र अत्यधिक वर्षाको प्रक्षेपण

    प्रकाशित २०८१ अषाढ २८, बिहिबार (१ महिना अघि)


काठमांडौ । मौसम पूर्वानुमान महाशाखाले तीन दिन देशभर वर्षा हुने तर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि अतिभारी तथा सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको जानकारी सहित सतर्क रहन सुझाव समेत दिएको छ ।

दुईवटा मौसमी प्रणाली एकसाथ सक्रिय हुँदा शनिबारसम्म देशभर वर्षाको प्रक्षेपण गरिएको छ । मनसुन न्यूनचापीय रेखा नेपालतिर सर्नुका साथै बिहीबारबाट उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने भएपछि मौसम पूर्वानुमान महाशाखाले देशभर वर्षाको आकलन गरेको हो ।

मनसुन रेखा पश्चिम (सुदूर र लुम्बिनीको पश्चिम) बाहेकमा नेपालतिर सर्न थालेकाले मध्य र पूर्वी नेपालमा भीषण र अत्यधिक वर्षाको चेतावनी दिइएको छ । ‘मनसुन सक्रिय छँदै थियो, मनसुनी रेखा अझ नेपालतिर सरिरहेको छ,’ मौसमविद् सरोज पुडासैनीले भने, ‘पश्चिमी न्यूनचापीय प्रणालीले सपोर्ट गरेमा भारीदेखि अतिभारी वर्षा हुन सक्छ ।’

महाशाखाले विशेष बुलेटिन जारी गर्दै शनिबार बिहानसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यो अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि अतिभारी तथा सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ । सामान्यतयाः २४ घण्टामा ५० देखि १०० मिमिसम्म हल्कादेखि मध्यम, १०० देखि २०० मिमिसम्मलाई भारी वर्षा भनिन्छ । २०० मिमिमाथिको वर्षालाई अतिभारी भनिन्छ । तर, मापदण्ड भने हरेक क्षेत्र (स्टेसन) को फरक–फरक हुन्छ ।

अत्यधिक वर्षाका दुई कारण
१. मनसुन न्यूनचापीय रेखा पूर्वी र मध्य नेपालतिर सर्नु । त्यसमा पनि सुदूरपश्चिममा दक्षिण भूभाग/सिमानाआसपासमा रहनुले तुलनात्मक रूपमा कम वर्षा हुने । तर, त्यसबाहेक मध्य र पूर्वी नेपालमा न्यूनचापीय रेखा नेपालतिर सरिरहेकाले धेरै वर्षा हुने ।

२. बिहीबारदेखि नेपालआसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना । उपल्लो वायुमण्डल (५५०० मिटरदेखि १२ किलोमिटर) सम्मको क्षेत्रमा न्यूनचापीय प्रणाली विकास भएमा (हावाको चाप कम) बादल सोहरेर ल्याउँछ, अतिभारी वर्षा गराउने सम्भावना हुन्छ । 

 

भीषणदेखि अत्यधिक वर्षा हुन सक्ने ४३ जिल्ला

मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिमबाहेकका पाँच प्रदेशका ४३ जिल्लामा रेड अलर्ट जारी गरेको छ । तीन दिनको अवधिमा भीषणदेखि अत्यधिक वर्षाको प्रक्षेपण गरिएका जिल्लालाई रेड अलर्ट दिइएको हो, अर्थात् उच्च जोखिम रहेकाले जोखिमयुक्त क्षेत्रमा प्रतिकार्यको काम गर्नुपर्ने भनिएको हो ।

महाशाखाले कोशीका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुरलाई उच्च जोखिममा राखेको छ । कोशीको ओखलढुंगामा पनि जोखिम भने छ ।

मधेशका आठवटै जिल्ला सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी उच्च जोखिममा छन् ।

बागमतीका १३ मध्ये साात जिल्ला उच्च जोखिममा छन् भने ६ जिल्लामा मध्यम जोखिम छ । उच्च जोखिममा परेका जिल्लामा मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सिन्धुली र रसुवा छन् ।

गण्डकीमा मनाङ र मुस्ताङ जोखिममा छन् । बाँकी नौ जिल्ला म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखालाई उच्च जोखिमको सूचीमा राखिएको छ ।

लुम्बिनीका ६ जिल्ला कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम र दाङ उच्च जोखिममा छन् । यहाँका बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा, प्युठान र अर्घाखाँची पनि जोखिमयुक्त जिल्लाको सूचीमा छन् । कर्णाली र सुदूरपश्चिम उच्च जोखिमको सूचीमा छैन ।

तर, कर्णालीका दैलेख, सुर्खेत, सल्यान, रुकुम पश्चिम र जाजरकोट तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम र बैतडी मध्यम जोखिममा परेका छन् । यी कर्णाली र सुदूरपश्चिमका आठ जिल्ला मात्र न्यून जोखिममा परेका छन्, जुन उच्च पहाडी तथा हिमाली भेगका जिल्ला हुन् ।

Write your Comment