आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

देवचुलीका एक प्रधानाध्यापकको अभिभावकलाई खुला पत्र

    प्रकाशित २०८१ अषाढ २८, बिहिबार (३ महिना अघि)


आदरणीय अभिभावक ज्यू ,
सादर नमस्कार

हामीले शैक्षिक सत्र २०८१ मा हजुरहरूका नानीबाबुहरुलाई करिब तीन महिना अध्यापन गरिसकेका छौँ । असार २० गतेबाट २७ गतेसम्म कक्षा ६, ७ र ८ बाहेक बाकी कक्षाको प्रथम त्रैमासिक परीक्षा सम्पन्न गरेर हामीले कक्षा ६ देखि १० सम्मका सबै विद्यार्थीहरुलाई असार २८ गते बिहान ७ बजे विद्यालयमा बोलाएका छौँ । कक्षा नर्सरी देखि १० सम्मका अभिभावकहरु पनि बिहान ७ बजे नै विद्यालयमा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौं । उक्त दिन हामी विद्यार्थीहरुलाई कालिका वाटिकामा उम्रिएका झारपात कुहाएर कम्पोष्टमल बनाउने तरिका सिकाउनेछौँ । वाटिकामा उम्रिएका सिरु घाँस कटाएर वाटिकामा रहेका रुखका फेदमा गणित शिक्षकले गणितका बिभिन्न आकारमा छाप्नेछौँ । जसबाट साना बाबुनानीहरुले वाटिकामा रमाएर खेल्दै गणितिय आकारहरुको दृष्याबवलोकन गर्न सक्नेछन् । त्यहि स्थानमा बिज्ञान शिक्षकले गड्यौला कसरी उत्पादन हुन्छ भन्ने कुरा सिकाउनुहुनेछ ।आदरणीय अभिभाकज्यूहरु पनि उपस्थित भएर उत्कृष्ट वाटिका निर्माणमा सहभागी भई बाबुनानीहरु प्रफुल्लित बनाइ बाबुनानीहरुमा श्रमलाई सम्मान गर्ने सस्कृतिको विकास गराउने अभियानमा साथ दिनुहनेछ भन्ने विश्वास लिएकाछौं । यस अभियानमा साथ दिन हामीले कालिका माविसँग सरोकार राख्नुहुने स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी, शिक्षाप्रेमी सम्पूर्ण महानुभावहरुलाई पनि आह्वान गरेका छौँ ।

अभिभावकज्यूहरु, हामीले विद्यार्थीहरुलाई पञ्चेबाजाको तालिम, कम्प्युटर तालिम, करेसाबारी निर्माण लगायत शुक्रबारे कार्यक्रमबाट किताबी ज्ञानका साथै अतिरिक्त ज्ञानको दायरा फराकिलो पार्ने प्रयास गरिरहेकाछौँ । असार ३० गतेबाट श्रावण १३ गतेसम्म नानीबाबुहरुको बर्षे बिदा हुँदैछ । अहिले वर्षायामको समय र गर्मी मौसम साथै लामो बिदा भएकाले नानीबाबुहरुको विशेष ख्याल पुर्‍याउनु हुन र समय निकालेर तलका उल्लेखित ठाउँ र व्यक्तिहरूसँग घुमघाम र भेटघाट गराएर आफ्ना नानीबाबुको व्यवहारिक ज्ञानको दायरा अझै फराकिलो बनाउनु हुनेछ, बिदा पश्चात नानीबाबुहरु विद्यालय आउदा आफ्ना अनुभवहरु साथीभाइ र शिक्षकहरुलाई सुनाउन उत्साहित हुँदै आउनेछनु भन्ने विश्वास लिएका छौं ।

● अभिभावकज्यूहरू आफ्ना बाबु नानीहरूलाई यहाँहरूको घर नजिकै पानी जमेका खाल्डाखुल्डीहरूमा लगेर देखाउनुहोस् । त्यहाँ भएका लामखुट्टेका लार्भा देखाउनुहोस् अनि लामखुट्टेले सार्ने रोगहरूको बारेमा जानकारी गराउनुहोस्। मलेरिया, औलो, डेङ्गु जस्ता रोगहरूको बारेमा जानकारी गराउनुहोस् । पानी जमेका खाल्डाखुल्डीहरू पुर्न लगाउनुहोस्।

● यो बिदाको अवधिमा आफ्ना नानीबाबुहरूलाई आफूले गर्ने काम, पेसा वा व्यवसायको बारेमा पूर्ण जानकारी गराउनुहोस् । तपाईं कृषक हुनुहुन्छ भने खेतबारीमा सँगै काम गराउनुहोस्। तपाईँ व्यापार व्यवसाय गर्नुहुन्छ भने उनीहरुलाई आम्दानी, खर्च, नाफा, नोक्सान आदिबारे हिसाब किताब राख्न र एक दुई दिन पूर्ण रुपमा व्यवसाय सम्हाल्न दिनुहोस् । यदि तपाईं जागिर खानुहुन्छ भने नानीबाबुहरूलाई कार्यक्षेत्रमा सँगै लिएर जानुहोस् अनि समयको परिपालन, पोसाक, दिनभरिको कामको थकान, मासिक तलब, दिउँसोको खाजा आदिको प्रत्यक्ष अवलोकन गराउनुहोस्। तपाईँको लगनशीलता, इमान्दारिता र मेहनतको प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्नुहोस्। जसले गर्दा नानीबाबुहरुले तपाईंलाई श्रद्धा गर्न सुरुवात गर्नेछन् ।

● एक दिन विद्यालय नजिकै रहेको घुमाउरी सामुदायिक वनमा लिएर जानुहोस्। अनि त्यहाँ रहेको झोलुङ्गे पुल, पोखरी, बौद्ध गुम्बा देखाउनुहोस्। पहाडी भूभागमा वारी डाँडाबाट पारी डाँडासम्म जान र नदी पार गर्न यस्ता झोलुङ्गे पुलहरूको प्रयोग हुन्छन् भन्ने कुरा सुनाउनुहोस्। झोलुङ्गे पुल नबनेका ठाउँमा तुइन, फड्के जस्ता माध्यमको प्रयोग हुन्छन् भन्ने सुनाउनुहोस् । एक महिना अघि कर्णालीमा झोलुङ्गे पुलबाट खच्चरलाई भारी बोकाएर पुल तार्दा लठ्ठा चुडिएको कहानी सुनाउनुहोस्। विकट पहाडी भूभागमा बालबालिकाहरू अझै पनि तुइनमा झुन्डिएर स्कुल आउजाउ गर्नुपर्ने बाध्यता सुनाउनुहोस्। बेलुका घरमा आएर त्यस्ता भिडियोहरु युट्युबमा सर्च गरेर देखाउनुहोस्। जसले गर्दा तपाईंका नानीबाबुहरूलाई नेपालको वास्तविक अवस्थाको जानकारी हुनेछ ।
घुमाउरीमा रहेको बौद्ध गुम्बाको दर्शन गराउनुहोस्। गौतम बुद्ध को हुन् ? बुद्ध धर्मको दर्शन के हो ? बुद्ध धर्मको सार के हो ? बौद्ध भिक्षुसँग भेट गराएर बुद्ध धर्म र दर्शन बारे अवगत गराउनुहोस् । बौद्ध भिक्षुहरू कसैले पहेँलो र कसैले गेरुवस्त्र लगाउँछन् यसको अर्थ के हो भनेर छलफल गर्नुहोस्। बौद्ध भिक्षुहरूसँग बुद्ध धर्मको मूल ग्रन्थ के हो भनी सोध्न लगाउनुहोस् । बाबुनानी जिज्ञासु हुनेछन् ।

घुमाउरी सामुदायिक वनमा बन्दै गरेको पोखरीको अवलोकन गराउनुहोस्। त्यो पोखरी निर्माणबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानव समुदायलाई हुने फाइदाहरू के के होलान् भनी छलफल गर्नुहोस्। उक्त पोखरीको पिंधमा हिलोमाटो भएकाले पौडी खेल्दा डुब्न सकिने खतरा को बारेमा बुझाउनुहोस् । केही वर्ष अगाडि मनकामना आधारभूत विद्यालयमा पढ्ने एकजना विद्यार्थी पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको घटना सुनाउनुहोस् । उक्त पोखरी निर्माणले वन्यजन्तुहरूले पानी पिउन पाउने, पोखरीमा पौडी खेल्नका लागि पर्यटकहरुलाई आकर्षण गर्न सकिने, पोखरीमा पानी सञ्चित हुनाले पोखरीभन्दा तल रहेका पानीका मूलहरू नसुक्ने साथै सिंचाइ गर्नका लागि पर्याप्त पानी सञ्चय हुने फाइदाहरू को बारेमा जानकारी गराउनुहोस्। घुमाउरी जङ्गलमा भएको खोलाको तिरतिरै आफ्ना बाबुनानीहरूलाई हिडाउँदै माथि गाउँसम्म लैजानुहोस्। जसले गर्दा बाबु नानीहरुले जङ्गल, खोल्सा, छहरा लगायत चराहरुका चिरबिर आवाज, पानीका कलकल आवाजसँगै प्राकृतिक दृश्यहरू सँग रमाउँदै प्रकृतिलाई माया गर्न सिक्नेछन्।

● एकदिन तपाईंको स्कुल नजिकै रहेको वार्ड नं ९ को वडा कार्यालय देखाउन लैजानुहोस्। वडा कार्यालयमा पाँचजना जनप्रतिनिधिहरू हुन्छन्। त्यहाँ वडा अध्यक्षलाई चिनाउनुहोस। निर्वाचनका बेला महिला सदस्य, दलित महिला सदस्य लगायतका जनप्रतिनिधिहरू निर्वाचित हुने प्रक्रिया, उहाँहरूको कार्य अवधि, उहाँहरूको काम कर्तव्य र अधिकार बारे छलफल गराउनुहोस्। वडा अध्यक्षसँग वडामा भइरहेको विकास निर्माणको बजेट विनियोजन र वडाले विद्यालयलाई छुट्टयाएको बजेटबारे छलफल गराउनुहोस्। त्यहाँ हुनुभएका महिला सदस्यसँग वडा नम्बर ९ को महिलाहरूको अवस्था समुदायको महिलाप्रतिको दृष्टिकोण महिलाहरूको सामाजिक अवस्था आदिको बारेमा छलफल गराउनुहोस्। वडामा हुनुभएको दलित महिला सदस्यसँग भेटघाट गरी समुदायमा दलितहरूको अवस्था दलितहरुलाई गरिने विभेद जातीय छुवाछुत जस्ता कुसंस्कार आदिको बारेमा सोध्नुहोस्। समाजमा रहेका विद्यमान कुसंस्कारहरुलाई हटाउन समाज र विद्यालयको के भूमिका हुन्छ भनी नानीबाबुहरूलाई सोध्न लगाउनुहोस्। वडा कार्यालयमा वडा सचिव र अन्य कर्मचारीहरू पनि हुन्छन्। जनप्रतिनिधि र कर्मचारीहरु बीचमा के फरक हुन्छ भनी आफ्ना नानीबाबुहरुलाई बुझ्न लगाउनुहोस्। यो वार्तालापले तपाईंको बाबुनानीलाई समाजसेवी, राजनीतिकर्मी वा तलबी कर्मचारी के बन्ने भन्ने सोच निर्माण गर्न सहयोग पुग्नेछ। त्यहाँ काम गर्ने कर्मचारीहरूको पोसाक, परिचयपत्र आदि अवलोकन गर्न लगाउनुहोस्। तपाईँ वार्ड कार्यालयमा जाँदै गर्दा पञ्जीकरण भनेको के हो ? जन्म, विवाह, मृत्यु दर्ता गर्न किन आवश्यक छ ? नगर्दा के हुन्छ ? जनप्रतिनिधि वा वडा सचिवसँग नानीबाबु स्वयंलाई सोध्न लगाउनुहोस् ।

● आफ्ना नानीबाबुहरुलाई तपाईँहरूको छरछिमेकमा ७० / ८० वर्ष नाघेका जेष्ठ नागरिकहरूसँग भेटघाट गराउनुहोस्। उहाँहरु कहाँ कहाँबाट बसाइँ सरेर यस ठाउँमा आउनुभयो सोध्न लगाउनुहोस् । नानीबाबुहरुले बसाईंसराइका कारणहरूको बारेमा बोध गर्नेछन् र धेरै तिरबाट जम्मा भएका मानिसहरु समाजमा कसरी मिलेर बसेका छन् भन्ने बुझ्नेछन्। जेष्ठ नागरिकहरूसँग असारे गीत, झ्याउरे नाच, करुवा नाच आदिको बारेमा सोध्न लगाउनुहोस्। पुनर्वासको जग्गा वितरण, लालपुर्जा वितरण र प्राप्तिमा भएको समस्या र प्रक्रियाका बारेमा छलफल गर्न लगाउनुहोस् ।

● एकदिन विद्यालय नजिकै रहेका धेरै मौरी फर्महरु मध्ये कुनै एक फर्म घुमाउन लैजानुहोस्। मौरीको जीवनचक्र, रानीमौरी, कर्मी मौरी, भाले मौरीको बारेमा छलफल गराउनुहोस्। त्यहाँबाट तपाईंका बाबु नानीले मौरी जस्तै मिलेर बस्न, मौरी जस्तै कर्मशील बन्न, महको महत्व बुझ्न, मह प्रशोधन गर्ने तरिका देख्न र फर्मका मालिकहरू जस्तै उद्यमी बन्न सिक्नेछन् ।

● एक दिन वार्ड नं ९ मा रहेका कृषि फर्म मध्य कुनै एक फर्म घुमाउनुहोस्। कृषि फर्ममा भएका मौरी पालन, फलफूलखेती, पशुपालन, बङ्गुर पालन आदिले इकोसिस्टमको चक्र कसरी पुरा भएको छ र वातावरणलाई कसरी सन्तुलित राख्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण अवलोकन गराउनुहोस् । कृषि फर्ममा फलेका नरिवल, ड्रागन, एभोकाडो, लिची, आँप आदिले ”गरे के हुँदैन” भन्ने तथ्यलाई सत्य साबित गराउनुहोस् ।

● बाबुनानीहरुलाई एकदिन पशुपति साङ्गवेदमा घुमाउन लैजानुहोस् । उक्त विद्यालयमा संस्कृतको पठनपाठन हुन्छ। त्यहाँ गएर संस्कृत शिक्षा, पूर्वीय दर्शन, गुरुकुल शिक्षा, सनातन धर्म आदिका बारेमा छलफल गराउनुहोस्। आज विश्वका विकसित मुलुकहरु अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी जस्ता देशहरुका विश्वविद्यालयमा संस्कृत पढाइ हुन्छ किन होला भनी कारण खोज्न लगाउनुहोस् । Computer software मा कोडिङ गर्न संस्कृतको प्रयोग किन हुन्छ भनी सोधपुछ गराउनुहोस्। पशुपति साङ्गवेद पुग्दै गर्दा नारायणी नदी र बोटे समुदायको चिनारी गराउन नभुल्नुहोस् ।

● नानीबाबुहरुको विद्यालय नजिक रहेको चर्चको भ्रमण गराइ बाइबल, जिसस क्राइस्ट, पास्टर आदिका बारेमा छलफल गराउनुहोस् । चर्चको अगाडिपट्टि राखिएको क्रुसको अर्थ के हो परमेश्वर किन क्रुसमा चढ्नुभयो। पास्टरसँग सोधखोज गराउनुहोस्। तपाईंका बाबुनानीहरु उत्साहित हुनेछन् नानीहरुले मन्दिर, गुम्बा र चर्चमा फरक छुट्याउन सक्नेछन् । वेद, त्रिपिटक र बाइबलको बारेमा बुझ्नेछन् । घन्टी, माने र क्रुसको बारेमा बुझ्नेछन् । एउटै समुदायमा फरक धर्मका मान्छेहरु कसरी मिलेर बसेका छन् भन्ने बुझ्नेछन् । नेपाल धार्मिक सहिष्षुण र निरपेक्ष राज्य हो भन्ने बुझ्नेछन्।

● एकदिन नानीबाबुहरुलाई पृथ्वीनगरमा रहेको मगर साँस्कृतिक सङ्ग्राहलय देखाउन लैजानुहोस् । त्यहाँ मगर सस्कृति, मगर भेषभुषा र लोप हुन लागेको घुमाउने घर अवलोकन गर्न पाउनेछन् । मगर सङ्ग्रहालयको आडैमा नै किशोरी सिकाइ तथा अध्ययन केन्द्रको शानदार भवन बन्दै गरेको अवस्थामा छ। त्यो भवनको अवलोकन गराउदै उक्त अध्ययन केन्द्रले समाजमा पार्ने सकारात्मक प्रभावका बारेमा छलफल गराउनुहोस् ।

● एकदिन नानीबाबुहरुलाई पिठौलीमा रहेको वृद्धाश्रम भ्रमण गराउनुहोस्। त्यहाँ रहेका वृद्धवृद्धाहरूसँग आफ्ना नानीबाबुहरूलाई बातचित गराउनुहोस्। त्यहाँ रहेका वृद्धवृद्धाहरूलाई केही चिज वस्तुहरू किनेर बाँड्न लगाउनुहोस्। मान्छेहरु कसरी वृद्धाश्रममा आइपुग्छन् र अबको १० / १५ वर्षमा वृद्धाश्रममा वृद्धहरुको संख्या कसरी बढ्दै जान्छ भन्ने कुरा छलफल गर्नुहोस्। हामीले आफ्ना सन्तानलाई पर्याप्त समय दिएनौ भने महङ्गो शिक्षा नभई संस्कार सहितको शिक्षा दिएनौ भने हाम्रा सन्तानले बुढेसकालमा पठाउने भनेको वृद्धाश्रममा नै हो। तसर्थ बाबुनानीहरुलाई पर्याप्त समय दिऔँ, उनीहरूसँग अन्तरंग छलफल गफगाफ गरौं। बुढापाकाको पुराना कहानी सुनाऔं। आजको सूचना र प्रविधिसँग अपडेट गराऔं। समय सापेक्ष अघि बढ्न सिकाऔं । बाबुनानीमा भएको प्रतिभालाई प्रस्फुटन गर्न वातावरण बनाऔं । उनीहरूको सर्वाङ्गीण विकास हुने वातावरण सृजना गराऔँ ।

अभिभावकज्यू यहाँहरुको घर, समुदाय र स्कुल वरपर घुम्न लायक धेरै ठाउँ र भेटघाट गरेर ज्ञान बटुल्न सकिने व्यक्तिहरु हुनुहुन्छ । तसर्थ आफ्ना बाबुनानीहरुलाई प्रकृतिसग रमाउन, पिता पुर्खाका पौरख सुनाउन, अहिलेको सूचना र प्रविधिसँग अपडेट गराउदै उनिहरुको सर्वाङ्गिण विकास गराउन अभिभावहरुको महत्वपुर्ण भूमिका रहन्छ । दुनियाँको सबैभन्दा महान शिक्षक हामी आमा बुबा हौँ । दुनियाँको सबैभन्दा ठूलो विश्वविद्यालय हाम्रो घर, समाज र यो प्रकृति हो भन्ने कुरा हामीले बुझ्न र हाम्रा सन्तानलाई बुझाउन सकियो भने मात्र हामीले चाहेको जस्तो संस्कारी र गरिखान सक्ने सन्तान बनाउन सकिनेछ ।

यहाँहरुले चिठीलाई पढिदिनु भएकोमा धन्यवाद । श्रावण १४ गते बिदा पछाडिको शुरुको दिन आफ्ना बाबुनानीहरुलाई सँगै लिएर विद्यालयसम्म आइ कक्षा शिक्षकलाई भेटर, कालिका वाटिका अवलोकन गरेर फर्कनु हनेछ भन्ने पूरण विश्वास लिएका छौं।

नवराज घिमिरे
प्रधानाध्यापक
कालिका माध्यमिक विद्यालय
देवचुली-९, विशालटार, नवलपरासी

Write your Comment