आज:  २०८१ अषाढ १९, मंगलबार | Tue, 02, Jul, 2024 Search
FLASH NEWS

१७ वर्षपछि भारतले जित्यो टी- २० विश्वकपको उपाधि

    प्रकाशित २०८१ अषाढ १७, आईतबार (२ दिन अघि)


काठमाडौँ । भारतले टी- २० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । भारतले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो ।

यस अघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो । यो सहित भारतले दोस्रो पटक टी- २० विश्वकपको उपाधि जितेको छ । यस अघि भारतले २००७ मा पहिलो टी- २० विश्वकप जितेको थियो ।

त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रीका भने उपविजेता बनेको छ । पहिलो पटक सन् २००७ मा भएको पहिलो विश्वकप भारतले जितेको थियो। २००९ को विश्वकप पाकिस्तानले २०१० र २०२२ को उपाधि इङ्ल्यान्डले उचालेको छ। सन् २०१२ र २०१६ को उपाधि वेस्ट इन्डिजले तथा २०१४ को उपाधि श्रीलंकाले र २०२१ को उपाधि अष्ट्रेलियाले जितेको थियो।

सन् २००७ मा भएको पहिलो संस्करणको उपाधि उचाले यता भारतले विश्वकप ट्रफी जित्न सकेको थिएन । सन् २०२६ मा हुने १० औँ संस्करणको विश्वकप आयोजना गर्न लागेको भारत साविक विजेताको रुपमा विश्वकप खेल्नेछ। सन् २०२६ को विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा हुनेछ।

सन् २००७ पछि सन् २०१४ मा नजिक पुगेर पनि टाढिएको भारतले दोस्रो प्रयासमा टी–२० को विश्व विजेता बनेको हो। सन् २००७ मा पहिलो विश्वकप जितेपछि भारत सन् २००९, २०१० र २०१२ मा दोस्रो चरणबाट नै बाहिरियो। सन् २०१४ मा उपविजेता बनेको भारत सन् २०१६ को विश्वकप आयोजना गर्दा भने सेमिफाइनल मै रोकियो।

सन् २०२१ मा दोस्रो चरणबाट बाहिरिएको भारत २०२२ मा भने सेमिफाइनल सम्म पुगेको थियो। नवौँ टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा दुई पटकको च्याम्पियन इङल्यान्डमाथि ६८ रनको जित निकाल्दै दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको थियो।

सुपर ८ मा भारतले अष्ट्रेलियालाई २४ रनले तथा बंगलादेशलाई ५० रनले हराएको थियो। अर्को खेलमा अफगानिस्तानमाथि ४७ रनको जित निकालेको थियो। समूह चरण पाकिस्तानलाई भने ६ रनले हराएको थियो ।

Write your Comment