आज:  २०८१ अषाढ १७, आईतबार | Sun, 30, Jun, 2024 Search
FLASH NEWS

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने

    प्रकाशित २०८१ अषाढ १३, बुधबार (४ दिन अघि)


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा बिहीबार बिहान प्रकाशन हुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेपनि प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

१५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।

लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी नन ग्रेडेड उल्लेख हुनेछ । र ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् ।

साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

Write your Comment