आज:  २०८१ अषाढ १७, आईतबार | Sun, 30, Jun, 2024 Search
FLASH NEWS

विद्यालय जाँदै गरेका बालकलाई खोलाले बगाएर मृत्यु

    प्रकाशित २०८१ अषाढ १२, मंगलबार (५ दिन अघि)


मोरङ । मोरङस्थित केराबारी गाउँपालिकामा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ । केराबारी ४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई मंगलबार बिहान ९ बजेतिर गोविने खोलाले बगाएको हो ।

एघार बर्षका श्याम राईको करिब एक सय मिटर तल पुर्‍याएको अवस्थामा खोलामा शव भेटिएको छ । टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा बिहान ९ः५० बजेतिर शव फेला परेको वडाध्यक्ष तामाङले बताए ।

मृतक श्याम केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए । याङ्शीलाबाट विद्यालय भएको चिउरी भञ्ज्याङ पुग्न विद्यार्थीलाई लगभग १ घण्टा समय लाग्ने विद्यालयका प्रधानाध्यापक सुजन थेवेले बताए ।

थेवेका अनुसार विद्यालयका कुल २ सय १० जना विद्यार्थी मध्ये करिब २० जना बालबालिका याङ्शीलाबाट अध्ययनका लागि जाने गरेका छन् । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय केराबारीको संयुक्त टोली घटनास्थलतर्फ लागेको छ ।

घटनास्थल पुग्न प्रहरीलाई करिब ३ घण्टा समय लाग्छ । घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिने मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

Write your Comment