आज:  २०८१ अषाढ १७, आईतबार | Sun, 30, Jun, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाको कुल बजेटको ३५ प्रतिशतभन्दा बढी बजेट शिक्षामा

    प्रकाशित २०८१ अषाढ १०, आईतबार (१ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिकाले शिक्षाका लागि कुल बजेटको ३५.२८ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि देवचुली नगरपालिकाले शिक्षातर्फ ३२ करोड १५ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेको हो । यो कुल बजेटको ३५.२८ प्रतिशत हो । देवचुली नगरपालिकामा आगामी आर्थिक वर्षका लागि ९१ करोड १४ लाख ३७ हजारको बजेट ल्याइएको छ ।

बालमैत्री नगरपालिकासमेत रहेको देवचुलीमा सामान्य खर्चको अभावमा अध्ययनमा समस्या झेलिरहेकाहरूलाई अध्ययनलाई निरन्तरता दिनका लागि प्रोत्साहन गर्ने उद्देश्यले आगामी आर्थिक वर्षमा छात्रवृतिको लागि बजेट विनियोजन गरिएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए । ‘कतिपय परिवारका विद्यार्थी सानो खर्चको अभावमा विद्यालय जान नसक्ने पनि हुन्छन्, शैक्षिक सामग्रीको अभावमा समस्या झेलिरहेका हुन्छन्, त्यस्ता विद्यार्थीलाई सहयोग सहित विद्यालय जान उत्प्रेरणा गर्नका लागि समेत छात्रवृति प्रदान गर्न बजेटको व्यवस्था गरेका हौं’ नगर प्रमुख न्यौपानेले भने ।

विद्यालयमा प्रसुति बिदाबाट हुने शैक्षिक क्षति न्यूनीकरणको लागि शिक्षक अनुदान कार्यक्रमका लागि देवचुली नगरपालिकाले बजेट विनियोजन गरेको छ । प्रसुति बिदामा रहेका शिक्षकका कारणले विद्यालय तथा विद्यार्थीलाई समस्या नरहोस् भनेर देवचुली नगरपालिकाले बजेट विनियोजन गरेको नगर उपप्रमुख पार्वता तिवारीले बताइन् ।

देवचुलीमा विद्यालयलाई क्रमशः झोलाविहिन शुक्रबार बनाउने कार्यक्रम अगाडि सारिएको छ । बजेटमा इलर्निङ कार्यक्रम विद्युतीय पाठ्यसामग्री निर्माण एवम् आधारभूत विकास कार्यक्रम, सूचना प्रविधि कार्यक्रमलाई जोड दिईएको, स्वयंसेवक शिक्षकलाई आकर्षक गर्ने कार्यक्रम, विद्यालयमा करेसाबारी कार्यक्रम ल्याइएको छ । बालबालिका शिक्षक, विद्यालय कर्मचारी, आया तथा परिचालिकाको लागि नगरपालिकाले थप बजेटको निरन्तरता दिएको छ ।

देवचुली नगरपालिकाका समस्यामा परेका शिक्षकहरुलाई शिक्षक सापटी कार्यक्रमलाई सुरुवात गरेको छ । शिक्षा क्षेत्रको सुधारको लागि शिक्षा सुधार कोष समेत स्थापना गरिएको छ ।

Write your Comment