आज:  २०८१ अषाढ १७, आईतबार | Sun, 30, Jun, 2024 Search
FLASH NEWS

कावासोती १२ लाई नगरको पहिलो बालमैत्री वडा घोषणा गरिने : वडा अध्यक्ष खनाल

    प्रकाशित २०८१ अषाढ ९, शनिबार (१ हफ्ता अघि)


नवलपुर । कावासोती नगरपालिका वडा नं. १२ लाई नगरकै पहिलो बालमैत्री वडा घोषणा गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष ध्रुव खनाल( दिपेश) ले बताउनुभयो । शुक्रबार कावासोती नगरपालिका वडा नं. १२ को आयोजना र जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा आयोजित वडा स्तरीय बालमैत्री स्थानीय शासनको अभिमुखीकरण र कार्ययोजना निर्माण कार्यशाला गोष्ठिमा उपस्थित सरोकारवालाहरुसँगको छलफल पश्चात वडा अध्यक्ष खनालले सो कुरा बताउनुभएको हो ।

अभिमुखीकरण कार्यक्रममा बालअधिकार भनेको के हो, बालमैत्री स्थानीय शासन भनेको के हो, यसका सुचकहरु के के हुन, प्रकृयाहरु के के हो, बालमैत्रीको प्रतिफलहरु के के हुन्छ र बालबालिकामा किन लगानी गर्नुपर्छ भन्ने बारेमा सहजिकरण गरिएको बाल अधिकारकर्मी खिमानन्द भुसालले बताउनुभयो ।

स्थानीय तहले भौतिक विकास मात्र नभई यस्ता विभिन्न अभियानहरु सुरु गर्नुपर्ने र यसले सवैको मानविय विकासमा समेत टेवा पुग्ने हुँदा यस्ता अभियानहरु सुरु गरिनु सुखद रहेको सहभागीहरुले बताएका थिए । संघसंस्थाहरुको तर्फबाट साझा प्रतिबद्धता गर्दै सवैले हातेमालो गरी वडाको अभियानलाई सहयोग गर्ने सामुहीक प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

कार्यक्रममा वडाले बालमैत्रीको लागि गरिनुपर्ने कार्यक्रमहरु र योजनाहरु समेत निर्माण गरी वडाले नगर र अन्य संघसंस्थाबाट समेत सहयोग लिने गरी अगाडी सारिएको छ । नेपाल सरकारले कुनै पनि स्थानीय तह बालमैत्री हुनको लागि सेवाप्रवाह सम्बन्धी ३६ र संस्थागत विकास सम्बन्धी १५ सुचकहरु गरी ५१ सुचकहरु पुरा गरेर बालमैत्री वडा र नगर घोषणा गर्न सकीने बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा व्यवस्था रहेको छ ।

नवलपुर जिल्लामा हालसम्म देवचुली नगरपालिका नेपालको दोस्रो बालमैत्री नगरको रुपमा २०७५ भदौ २९ गते घोषणा भएको छ भने गैडाकोट नगरको वडा नं. १ र ११ मात्र बालमैत्री घोषणा गरिएको छ । बाँकी अन्य पालिकाहरुमा अभियानहरु सञ्चालनमा छन् ।

कार्यक्रममा अधिकारकर्मीहरु खिमानन्द भुसाल, दिपक शर्माले सहजिकरण गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता कावासोती १२ का वडा सदस्य बन्दना तिवारी भुजेलले गर्नुभएको थियो ।

Write your Comment