देवचुली । देवचुलीमा संचालित नवलपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि मौलाकालिका वारियर्सले जितेको छ । गैँडाकोट स्पोर्टसको आयोजनामा बैशाख १४ गतेदेखि देवचुली नगरपालिका वडा नम्बर १० स्थित रोयल क्रिकेट एकेडेमीको क्रिकेट ग्राउण्डमा संचालन भएको प्रतियोगितामा बिहीबार मौलाकालिकाले कावासोती सुपर किङ्गसलाई हराएको हो ।
बिहीबार भएको फाइनल खेलमा कावासोती सुपर किङ्गसलाई १२ रनले हराउँदै मौलाकालिका वारियर्स विजयी भएको हो । पहिले ब्याटिङ गरेको मौलाकालिका वारियर्सले जितेन्द्र सहनीको ४९ रन र अशिम श्रेष्ठको २२ रनको मदतले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो । बलिङ तर्फ कावासोती सुपर किङ्गसका रितेश श्रेष्ठले २ विकेट र सरोज खत्रीले १ विकेट लिएका थिए ।
१३९ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रिएको कावासोती सुपर किङ्गसले २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन मात्र बनाएको हो । कावासोती सुपर किङ्गसका जेनिश क्षेत्रीले ३६ रन र नसिब तिमिल्सिनाले २९ रन बनाएका थिए। त्यसै गरि बलिङतर्फ मौलाकालिकाका समीर रोकाले ३ विकेट र प्रसिद्ध अर्यालले २ विकेट लिएका थिए। खेलमा मौलाकालिकाका जितेन्द्र सहनी प्लेयर अफ दि म्याच भएका थिए ।
प्रतियोगितामा बिजेता हुने मौलाकालिकाले ६५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने कावासोतीले ५० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि प्रतियोगितामा प्लेयर अफ द सिरिज हुन सफल जितेन्द्र सहनीले ११ हजार, ट्रफि र मौलाकाली केबलकारको ४ वटा टिकट प्राप्त गरेका छन् । बेष्ट ब्याटर हुन सफल आर्य महतोले ५ हजार ५ सय रुपैयाँ , बेष्ट बलर हुन सफल नयन प्रधानले ५ हजार ५ सय रुपैयाँ , इमर्जिङ प्लेयर हुन सफल प्रसिद्ध अर्यालले ४ हजार रुपैयाँ सहित मौलाकाली केबलकारको २ वटा टिकट प्राप्त गरेका छन्।