देवचुली । देवचुलीमा मर्मत सम्भार कार्यकर्ताका लागि ७ दिने सिप विकास तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा वास नमुना गाउँ परियोजना ( नापा वास) को सहयोगमा जेठ २ गतेदेखि ८ गतेसम्म मौलाथुम्की खानेपानीको योजना क्षेत्रभित्र तालिम संचालन गरिएको हो ।
तालिममा देवचुली वडा नम्बर ५ र ६ मा रहेका १२ वटा खानेपानी समितिका १३ जना मर्मत सम्भार कार्यकर्ताहरु सहभागिता रहेको थियो । सहभागीहरुलाई टंकी बनाउन, धारा बनाउन, पाइपलाइन जोडन,खानेपानी योजना बनाउँदा प्रयोग हुने पाइप तथा फिटिङ्सका सामानहरु जडानका बारेमा प्रयोगात्मक रुपमा सिकाइएको नापा वासका परियोजना व्यवस्थापक प्रवीण घिमिरेले जानकारी दिनुभयो । मर्मत सम्भार कार्यकर्ताहरुलाई आफ्नो खानेपानी क्षेत्रमा दक्ष प्राविधिक उत्पादन गर्नका लागि तालिम दिइएको उहाँले बताउनुभयो । एक हप्तासम्म संचालन भएको तालिमलाई नापा वासका सनद ज्ञवालीले प्रशिक्षण गर्नुभएको थियो ।
तालिमको समापन कार्यक्रम देवचुली वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटा प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष सापकोटाले तालिमबाट मर्मत सम्भार कार्यकर्ताहरूलाई दक्ष बनाउन सहयोग गरेको बताउनुभयो । तालिममा सिकेको सीपलाई सम्बन्धित खानेपानी क्षेत्रमा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । नापा वासले देवचुली ५ र ६ मा खानेपानी सरसफाइ स्वच्छ्ता सम्बन्धि परियोजना संचालन गरिरहेको छ ।